कागेश्वरी मनोहरा नगरपालिकामा महिला सामूदायिक स्वास्थ्य स्वयम् सेविकाहरुको अर्धबार्षिक समीक्षा शुरु

कागेश्वरी मनोहरा नगरपालिकामा महिला सामूदायिक स्वास्थ्य स्वयम् सेविकाहरुको अर्धबार्षिक समीक्षा शुरु

कपन अनलाइन

काठमाडौं, माघ २६ । कागेश्वरी मनोहरा नगरपालिकामा महिला सामूदायिक स्वास्थ्य स्वयम् सेविकाहरुको अर्धबार्षिक समीक्षा शुरु भएको छ ।
आइतबार बाट शुरु भएको महिला सामूदायिक स्वास्थ्य स्वयम् सेविकाहरुको अर्धबार्षिक समीक्षा बैठकको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले उद्घाटन  गरेका थिए ।

मुलपानी नगर अस्पताल, गोठाटार स्वास्थ्य चौकी र आलापोट स्वास्थ्य चौकीमा शुरु भएको अर्धबार्षिक समीक्षा उद्घाटन सत्रलाइ  सम्बोधन गर्दै  नगर प्रमुख थापाले महिला स्वास्थ्य स्वयम् सेविकाहरुले स्वास्थ्य सेवा प्रवाहमा पुर्याएको योगदान महत्वपूर्ण  रहेको बताउदै स्वास्थ्य स्वयम्सेविकाहरुले गरेको  कार्यको प्रशंशा गरेका थिए ।प्रमुख थापाले आगामी दिनमा पनि वडा र गाउँ गाउँमा सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रवाह गर्न महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई आग्रह  गरेका थिए। उनले समग्र नगरपालिकाको विकास र समृद्धिका लागि सक्रिय भएर लागेको बताउदै नगरलाई स्वच्छ, सफा र हराभरा बनाई नगरलाई नमूना बनाउन सिंगो नगरपालिका टिम लागिपरेको बताएका थिए ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावलीले नगरपालिकाबाट प्रदान गरिने स्वास्थ्य सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयम् सेविकाहरुको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।समीक्षा कार्यक्रम गागलफेदी स्वास्थ्य चौकी, भद्रबास स्वास्थ्य चौकी, डाँछी स्वास्थ्य चौकी र ४ नं.वडामा रहेको शहरी स्वास्थ्य क्लिनिकमा आज र भोलि  सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य अधिकृत लक्ष्मी कोइरालाले जानकारी गराएकी थिइन् ।त्यसैगरी यही माघ २७ गते र २८ गते ७ र ८ नं.वडामा रहेको शहरी स्वास्थ्य क्लिनिकमा समीक्षा कार्यक्रम हुने पनि कोइरालाले जानकारी गराएकी थिइन ।

सो समीक्षा कार्यक्रममा महिला स्वास्थ्य स्वयम् सेविकाहरुले हाल सम्म गरेका कामहरु, काम गर्दा परेका अप्ठ्याराहरु, क्षमता अभिबृद्धि, संस्थामा बुझाएको रिपोर्ट, महिला स्वास्थ्य स्वयम् सेविकाहरुले गर्ने समग्र कामहरु र आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको स्वास्थ्य अधिकृत कोइरालाले जानकारी गराइन।कागेश्वरी मनोहरा नगरपालिकाले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई नगरपालिकाको तर्फबाट मासिक १ हजार रुपैंयाँ थप भत्ता दिर्दै आएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा १ सय १८ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरु कार्यरत रहेका छन् ।महिला स्वास्थ्य स्वयम् सेविकाहरुले बच्चालाई पोसिलो खाना खान सिकाउने, वडामा स्वास्थ्य समस्या परेका महिलाहरुलाई स्वास्थ्य सल्लाह दिने, पोषणयुक्त खानेकुरा खानका लागी आमा र बच्चालाई आवश्यक सल्लाह दिने, खोप कार्यक्रम सञ्चालन गर्ने लगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छन् । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्य शाखा प्रमुख कृमार सिंह डाँडी लगायत कर्मचारीहरु र महिला स्वास्थ्य स्वय्म सेविकाहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।