मानव बेचविखन तथा ओसारपसार विरुद्ध नमुना राष्ट्रिय नीति सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,माघ २०।
मानव बेचविखन तथा ओसारपसार विरुद्ध नमुना राष्ट्रिय नीतिबारे आयोजित राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न भएको छ।
मानव बेचविखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय नीतिले आन्तरिक तथा विदेशमा हुने मानव बेचविखन तथा ओसार–पसार नियन्त्रण तथा न्युनिकरणमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
महिला बालबालिका बेचविखन विरुद्ध कार्यरत समुह एटविनद्वारा आयोजित मानव बेचविखन तथा ओसारपसार विरुद्ध नमुना राष्ट्रिय नीतिबारे आयोजित राष्ट्रिय परामर्श कार्यक्रममा सहभागी मानव बेचविखन विरुद्ध काम गरिरहेका तथा स्वदेश फर्किएपछि आश्रस्थल तथा सिप सिकाउने संस्थाका प्रतिनिधीहरुले सो कुरा बताएका छन ।
कार्यक्रममा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्वन्धी राष्ट्रिय नीतिको आवश्यकता, नीतिको ढाँचा तथा सरकारको भुमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै स्रोत व्यक्ति शुभेन्द्रमान श्रेष्ठले नीतिका सिद्धान्त तथा उद्देश्यबारे स्पष्ट पारेका थिए ।
कार्यपत्रमा नीतिको निर्देशक सिद्धान्त, दुरदृष्टि, ध्येय, लक्ष्य,उद्देश्यबारे जानकारी दिदैं नीति कार्यान्वयन गर्दै मानव बेचविखन तथा ओसारपसारको जोखिममा रहेका व्यक्ति, समुह/समुदायको सामाजिक–आर्थिक रुपान्तरण गर्दै बेचविखन तथा ओसारपसारका घटनालाई नियन्त्रण गर्ने एवं पीडित/प्रभावितहरुको उचित संरक्षण तथा पुनस्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा एटविनका अध्यक्ष नातिसरा राईले बेचविखनलगायतका घटनाबाट पीडित/प्रभावितलाई सिकाउने सिप बजारमा माग हुने जनशक्तिका आधारमा दिन सके सिकेको सिपको उपयोग गरी प्रभावितले आत्मनिर्भर हुन सक्ने बताएकी थिइन् ।
सिप सिकाउने तथा स्वरोजगार हुन चाहनेका लागि बजारको आवश्यकता हेरेर सहयोग गर्न सके पीडितले सधैं अरुको भर पर्न नपर्ने अध्यक्ष राईले बताएकि छन ।
उक्त नीतिबारे समुहगत छलफल कार्यक्रममा एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुङले गैरसरकारी संस्थाले नीति बनाउन अभ्यास गरिएका यस्ता राष्ट्रिय परामर्श कार्यक्रमबाट निस्किएका निष्कर्षलाई राज्यले सुझावका रुपमा ग्रहण गरेर नीति बनाए मानव बेचविखनमुक्त समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकी थिइन्।