रोटरी क्लब अफ साँखु द्वारा शालिनदीमा आउने भक्तजनको लागी मास्क र स्यानिटाईजर प्रदान

रोटरी क्लब अफ साँखु द्वारा शालिनदीमा आउने भक्तजनको लागी मास्क र स्यानिटाईजर प्रदान

कपन अनलाइन

काठमाडौं माघ १९।हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन देखि  शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना बिहिबार देखि शुरु भएको छ ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । बिहिबार बाट काठमाडौंको  साँखुमा शालीनदीमा स्वस्थानीको मेला सुरु भएको हो  । कोभिड–१९ को महामारीका कारण मापदण्ड र कार्यविधि बनाएर संचालन गरिएको मेलालाई सहयोग पुगोस भनेर रोटरी क्लब अफ साँखुद्वारा कोभिड-१९ को प्रकोपबाट आम सर्वसाधारण भक्तजनहरुलाई समेत सचेत गर्ने प्रयोजनको लागि ३० लिटर ह्याण्ड स्यानिटाईजर र २ हजार थान मास्क श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिलाई हस्तान्तरण गरेको छ ।

यस वर्ष कोभिड -१९को प्रकोपलाई ध्यानमा राखी साँखुको शालिनदीमा व्रतालुहरुको संख्या समेत ५० जनामा सीमित गरिएको छ भने माधवनारायण दर्शनको लागि आउने भक्तजनको स्वास्थ्य सुरक्षाको चासो गर्दै समितिले निशुल्क रुपमा मास्क र स्यानिटाईजर वितरण गर्दै आईरहेको छ ।समितिले मास्क स्यानिटाईजर वितरण गर्नुका साथै भक्तजनहरुलाई भीडभाड नगर्न एवं व्रतालुहरुलाई समेत भक्तजनबाट टाढा राख्ने व्यवस्था गर्दै आईरहेको छ ।शालिनदी किनारमा व्रतालुहरुको सुरक्षालाई ध्यान दिँदै समितिले यस वर्ष माग्नेहरुको लस्करलाई समेत फिर्ता गरेको छ भने टिका प्रसाद लगाईदिने र स्वस्थानी कथा वाचन गर्नेहरुलाई समेत शालिनदी किनारबाट हटाएको छ ।यसले गर्दा शालिनदी किनारमा दर्शनार्थीहरुको भीडभाड हुँदा पनि सहज भएको छ ।

फोटो सौजन्य : लावन्य संदेश

 

 

 

तपाइँको प्रतिक्रिया ।