नेपाली सेना : धर्मानन्द भट्ट (कविता )

कपन अनलाइन

काठमाडौं ,माघ १८ ।

सीमा रक्षार्थ नेपाली सेना पिल्लर बन्दछ
लड्दा बरु मरूँ मैँ नै बाँचोस् यो राष्ट्र भन्दछ ।
बा आमा, घर, छोरा र छोरीको ममता भुली
हिँड्दै छ चौबिसै घन्टा राष्ट्रसेवक नै बनी ।।१।।

नेपाली घरको माटो ठानी पवित्र चन्दन
सधैँ लगाउँदै भिड्छ परास्तपार्न दुश्मन ।
माटो नखर्चिई इन्च हाँसोस् दसगजा भनी
रातीको बाह्र बज्दा नि बस्छ जागा सधैँभरि ।।२।।

कसैका सामु झुक्दैन गल्ती गर्दैन रत्ति नि
कसैले हेप्न थालेमा पछि हट्दैन कत्ति नि ।
अनुशासनमा बस्छ शिर ठाडो गरीकन
सबैभन्दामहान् भन्छ खुलेर राष्ट्रजीवन ।।३।।

देशद्रोहीहरू साथ कुनै पनि मिलेमतो
नगरी स्वाभिमानी भै राख्छ अक्षुण देश यो ।
शान्ति सेना बनी हिँड्छ ब्रह्माण्डमै सगौरव
त्यहीँ मुस्कानले छर्छ बुद्धको शान्ति सौरभ ।।४।।

नेपाली भूमि आस्थाको बुझ्दै सम्पति पैत्रिक
आफ्नो भन्दा बढी चिन्ता राष्ट्रको गर्छ दैनिक ।
के रोज्छौ ? सुखको लागि भन्दा ‘नेपाल रोज्छु म’
भन्ने सेनाहरूलाई सधैँ स्याल्युट ठोक्छु म ।।५।।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।