काठमाडौं महानगरको आठौं अधिवेसन सम्पन्न : ३ वटा विधेयक र लेखा समितिको प्रतिवेदन पारित

कपन अनलाइन

काठमाडौं ,माघ ७।

काठमाडौं महानगरको आठौं अधिवेसन आज सम्पन्न भएको छ । पुष २७ गते पहिलो बैठकबाट सुरु भएको अधिवेशन आज ३ वटा विधेयक र लेखा समितिको प्रतिवेदन पारित गर्दै सकिएको हो । अधिवेसनबाट विभिन्न कार्यक्रममा बजेट संशोधन गरिएको छ ।

अधिवेसनबाट ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक — २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक — २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक — २०७७’ स्वीकृत भएका हुन् ।

यसै गरी सभाबाट लेखा समितिको प्रतिवेदन पारित भएको छ । समितिले प्रतिवेदनमा वित्तिय सुशासन, नियमितता, मितव्ययिता, कार्यदक्षता, पारदर्शिता, प्रभावकारिताका विषय समावेश गरेको छ । सभामा समितिका संयोजक ध्रुव त्रिपाठीले प्रतिवेदन प्रस्तुत गरेका थिए  ।

यस अघि कार्यपालिकाको बैठकले निर्णय गरेर सामुदायिक, धार्मिक तथा स्वास्थ्य संस्थालाई दिएको कर छुट सम्बन्धि प्रस्ताव अनुमोदन गरेको छ । यस्ता संस्थाहरु ८ वटा रहेका छन् ।

अधिवेसनमा नगर सभा सदस्यहरुले नतिजामुखी परिणामका लागि महानगरको प्राविधिक क्षमता बढाउनु पर्ने सुझाव दिनुभएको छ । थालिएका तर रकम अभावका कारण यही आ. व. मा कार्य सम्पन्न हुन कठिन योजनाका लागि थप रकमको व्यवस्था गर्न, योजना अनुगमन गर्न, राजस्वको दायरा बढाउन, धुँवा धुलोमुक्त सहर बनाउने प्राथमिक योजनाका समस्या पहिचान गरेर नियमित गर्न पनि सुझाव प्राप्त भएका छन् । यस्तै कर्मचारी समायोजनमार्फत जनशक्ति व्यवस्थापनका विषयमा नगर सभा सदस्यहरुले  जोड दिएका थिए यो ।

बैठकमा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, वडा ३, ५, १० र ३२ का अध्यक्षहरु क्रमशः दीपक के. सी., रमेश डंगोल, रामकुमार के. सी. र नवराज पराजुली, कार्यपालिका सदस्य हीरादेवी पोखरेलले थप योजनाका विषयमा धारणा राख्नुभएको थियो । यसैगरी ४, ७, १३ र २७ का वडा सदस्यहरु क्रमशः धु्रव त्रिपाठी, कृष्णप्रसाद घिमिरे, रामबाबु कोइराला र परिवेशमान बज्राचार्यले स्थानीय पूर्वाधार निर्माण, शैक्षिक तथा जनस्वास्थ्यका कार्यक्रमका बारेमा उल्लेख गर्दै माग गरिएका योजना स्वीकृत गर्न आग्रह गरेका थिए यो ।फोटो सौजन्य : काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।