तेश्रो चौतारा साँगाचोकगढी मेयर कपमा रत्नलाई पराजित गर्दै प्रिन्स फाईनलमा
कपन अनलाइन
काठमाडौं ,मंसिर २६ ।
नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल सेनाका रत्नजित तामाङ्गलाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको फाईनल प्रवेश गरेका छन् । बिहिबार सम्पन्न सेमिफाईनल खेलमा सिल्क ग्रुपका दाहालले तामाङ्गलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरेका छन । निकैनै आक्रमक देखिएका प्रिन्सले रत्नलाई सम्हालिने मौकानै प्रदान गरेनन् ।
अव उपाधीका लागि प्रिन्सले सेनाका नविन श्रेष्ठको सामना गर्नेछन् ।
साँगाचोकगढी नगरपालिकाको प्रायोजन तथा तोप –२१ को आयोजनामा भएको प्रतियोगिताको अर्को सेमिफाईनलमा नविनले सेनाकै रुकेश महर्जन माथि २१–१७, २१–१० को जित निकाल्दै फाईनलमा प्रिन्स संगको भेट पक्का गरेका हुन् ।
यस अघि आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङ्गमा भएको ४० औं राष्ट्रिय प्रतियोगितामा पनि सुदूरपश्चिमबाट खेलेका प्रिन्सले मेन्स टिम ईभेन्ट्समा रत्नलाई पराजित गरेका थिए । हालै निस्केको बिश्व जुनियर बरियतामा प्रिन्स ११ औं स्थानमा रहेका छन् भने ब्याडमिन्टन एशियाले प्रिन्सलाई उत्कृष्ट जुनियर खेलाडी घोषित गरेको थियो ।
आजै भएको क्वाटरफाईनलको खेलमा सेनाका रत्नजितले पुलिसका जीवन आचार्यलाई २१–१०, २१–१३ र प्रिन्सले सेनाका पविन लिनथेपलाई दुवै सेट २१–१७ को समान अंकले पराजित गर्दै सेमिमा भिडन्त पक्का गरेका थिए । यस्तै अर्को खेलमा नविनले आफ्नै क्लबका प्रफुल महर्जन माथि २१–१२, १६–२१ र २१–१८ तथा सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१३, २१–१६ को सोझो सेटमा पराजित गर्दै सेमिमा स्थान पक्का गरेका थिए ।
कोरोनाका कारण प्रतियोगिताबाट बञ्चित रहेका राष्ट्रिय खेलाडीहरुले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाईरहेका छन् । राष्ट्रिय स्तरका १६ खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल भोली हुनेछ ।
राष्ट्रिय स्तरको पुरुष एकलका विजयी खेलाडीले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । ब्याडमिन्टनको ईतिहासमा यती ठुलो रकमको पुरस्कार रहेको यो पहिलो हो । यस्तै सेमिफाईनलिष्ट रत्नजित र रुकेशले जनही १०÷१० हजार प्राप्त गर्ने छन् ।