सचिवालय बैठकमा गएनन् प्रधानमन्त्री ओली
कपन अनलाइन
काठमाडौं ,मंसिर १७।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही बेर बसेर सकिएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि सचिवालय बैठक केही मिनेट बसेर सकिएको हो।
एकजना अध्यक्ष ओली बैठकमा नगएपछि कार्यकारी अध्यक्षसहितको सचिवालय बैठकले २० गते फेरि बस्ने निर्णय लिएको हो। यससँगै भोलि बस्ने भनिएको स्थायी कमिटी बैठक पनि सरेको छ।
ओली नगएपछि नेकपा सचिवालय बैठक केहीबेर बसेर स्थगित भएको हो। आगामी २० गते बस्नेगरी सचिवालय बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।
यसअघि नेकपाले स्थायी कमिटीको बैठक भोली र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गतेलाई बोलाएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाका अनुसार बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अर्को बैठक २० गते बिहान ११ बजे र स्थायी कमिटी बैठक २१ गते बस्ने बताएका छन्।