पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग तीन रनले पराजित

पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग तीन रनले पराजित

काठमाडौँ, १४ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसीपको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग तीन रनले पराजित भएको छ ।

स्कटल्यान्डस्थित एलोबेमा वर्षाका कारण ३६ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले २३६ रनको लक्ष्य पाएको थियो ।

Nepal-Vs-Scotland
धेरैजसो खेलमा नेपालको ब्याटिङ् पक्ष फितलो रहँदै आए पनि गएरातिको खेलमा नेपाली खेलाडीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाललाई जित दिलाउन भने सकेनन् ।

अनिल मण्डलको शतकीय पारी र कप्तान पारस खड्काको ७० रनका बाबजुद नेपालले अन्तिम दुई ओभरमा २५ रन बनाउन नसक्दा महत्वपूर्ण दुई अङ्क बटुल्नबाट चुक्यो ।

ओपनर महेश क्षेत्री र अनिल मण्डलले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरे । महेश २१ रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्ल १८ रनमा आउट भए । अनिल र कप्तान पारसले शतकीय साझेदारी गर्दै नेपाललाई जित नजिक पु¥याए । अन्तिम दुई ओभरमा नेपाललाई २५ रन चाहिएको थियो ।

पैँतीसौँ ओभरको चौथो बलमा पारस क्याच आउट भए । अनिल मण्डलसँग १३९ रनको साझेदारी गरेका पारस व्यक्तिगत ७० रनमा आउट भएका थिए । अर्को बलमा शरद भेसवाकर शून्यमै आउट भए ।

अन्तिम ओभरमा नेपाललाई १७ रन चाहियो । तर पहिलो बलमा अनिल मण्डल पनि आउट भए । मण्डलले ९३ बलमा नौ चौका र एक छक्कासहित १०० रन बनाए ।

गत असारमा सम्पन्न ट्वेन्टी ट्वेन्टी विश्वकप छनोटमा लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको नेपाली टोलीको लागि आज स्कटल्यान्डविरुद्धको खेल निकै महत्वपूर्ण मानिएको थियो ।

यसअघि, एक दिवसीय क्रिकेटमा नेपाल र स्कटल्यान्ड एक पटक आमनेसामने भएका थिए । यसको नतिजा स्कटल्यान्डको पक्षमा गएको थियो ।

आइसिसी विश्व लिग क्रिकेट डिभिजन टुमा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा नेपाल उक्त प्रतियोगिताको लागि छानिएको हो ।

आठ देश सहभागी उक्त च्याम्पियनसीप सन् २०१९ को इङ्ल्यान्ड र वेल्समा हुने विश्वकपका लागि छनोटको आधार पनि हो । यसबाटै छ टोली दोस्रो चरणमा पुग्नेछन् ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, महेश क्षेत्री (विकेट किपर), अनिल मण्डल, शरद भेषवाकर, पृथु बाँसकोटा, राजेश पुलामी मगर, सिद्धान्त लोहनी, प्रदीप ऐरी, सोमपाल कामी र अभिनाश कर्ण रहेका छन् । रासस

तपाइँको प्रतिक्रिया ।