यौनजन्य फिल्म खेल्ने नायिकाहरुको कन्तबिजोग

यौनजन्य फिल्म खेल्ने नायिकाहरुको कन्तबिजोग

एकताका यौनजन्य चलचित्र निर्माणको लहर चलेको थियो । दर्शकका लागि भन्दै अश्लील संवाद तथा दृश्य खिच्ने र खिचाउनेहरू बग्रेल्ती थिए । आफ्नो कला, प्रतिभाले नभई अश्लीलताको भरमा हिट हुन खोज्नेहरूको कालान्तरमा भागाभाग भएको छ । यसमा निर्धक्क खुल्ने ‘हिरोइनहरू’ मात्र नभई उनीहरूलाई नंग्याउँदा रातारात पैसा कमाइन्छ भन्ने मनशाय राख्ने निर्माता, निर्देशक पनि उत्तिकै भागिदार छन् । अहिले उनीहरूको चुरिफुरी बन्दै भएको छ । हिरोइन बन्न लामो समय संघर्ष गरेकी बिनिता बराललाई सबिर श्रेष्ठ र कृषा चौलागाईंले के म तिम्रो साथी बन्न सक्छुबाट निकाले ।

त्यसपछि सुरु भयो उनको नाटक । ‘आत्महत्या गर्छु’ भन्नसम्म पनि पछि नपरेकी उनलाई हिरोइन बनाए दीपेन्द्र के खनाल र अर्जुनकुमारले– चपली हाइटमा । सो फिल्ममा उनले मज्जाले एक्सपोज गरिन् । सहरका चोकचोकमा लागेका उनका नग्नप्राय: होर्डिङले गर्दा ट्राफिक मात्र नभई सर्वसाधारण पनि हैरान भए । बिनिताको लगभग नग्न फोटामा ध्यान केन्द्रित हुँदा सवारी दुर्घटना बढ्न गएको ठहर गरी महानगरपालिकाले ती होर्डिङबोर्ड हटाएरै छाड्यो । अर्कातिर, त्यसअघि बिनिताले आफ्ना फोटामा निर्माताले ‘ट्रिक’ गरेर खोलिदिएको भन्दै पत्रकार सम्मेलन पनि गरिन् ।

jya

मिडियामा हंगामा मच्चाएर फिल्म हिट बनाउने रणनीतिस्वरूप गरिएको सो नाटकको लगानीकर्ता पनि निर्माता अर्जुनकुमार नै थिए । ‘फिल्मलाई त फाइदा भयो नि,’ चपली हाइट हिट भएपछि अर्जुनले फुत्काइहाले, ‘त्यत्ति नगरेको भए के हुन्थ्यो हुन्थ्यो नि ।’ आफूले निकै बोल्ड भूमिका निभाएको भन्दै बिनिता आत्मरतिमा रमाइन् । चपली हाइट हिट भयो । तर, हिरोइनले सोचेझैँ उनको हातमा भटाभट फिल्म परेनन् । उनले अभिनय गरेको अर्काे फिल्म फुलस्टपले त झन् उनको करिअरमै फुलस्टप नै लगाइदियो भन्दा पनि हुन्छ । यद्यपि, उनले अभिनय गरेको सुपरहिट कहिले रिलिज हुन्छ, थाह छैन । नग्नताको आडमा सफलता नमिलेपछि उनी तरकारी खेतीमा लागिन् । तरकारी खेती, बिक्री, उपन्यास लेखनका साथै हालै उनले उमंग नामक फिल्ममा अभिनय गरेकी छिन् । उनको अभिनय करिअर भने निराशाजनक नै छ । एटिएम फिल्ममा अभिनय गरेर नामभन्दा बढी बदनाम कमाएका तीन हिरोइन हुन्– जिया केसी, सबिना कार्की र सोनिया शर्मा । उनीहरूसँगै सो फिल्मका निर्माता हिरो– दिनेश थापा र निर्देशक यादव सिलवालले पनि निकै आलोचना खेपे । खासमा एटिएमकै अश्लील प्रोमोका कारण फिल्म क्षेत्रमा हंगामा मच्चिएको थियो । सो प्रोमोले जिया, सोनिया, सबिना र दिनेशलाई समेत सार्वजनिक ठाउँमा खुलेआम हिँड्न गाह्रो पारेको थियो ।

 

केही समय सेन्सरले अवरोध गरेको फिल्मलाई रिलिजकै दिन प्रतिबन्ध लगाइएको थियो । एटिएमजस्ता फिल्म बन्न थालेपछि अब नेपाली फिल्मको हालत के हुन्छ ? भन्ने ठूलो बहस सिर्जना भएको थियो । एटिएमका कारण आलोचित भएकी जियाले यौनजन्य दृश्य दिन भने त्यसपछि पनि हिच्किचाइनन् । उनले दीपक श्रेष्ठले निर्माण गरेको रङ वेमा मात्र नभई बर्बाद नामक फिल्ममा पनि खुलेरै एक्सपोज गरिन् । आमाको आशिर्वाद, गाउँले, भाइ, दु:ख, आफ्नोपन जस्ता पारिवारिक फिल्म निर्देशन गरेका निर्देशक दीपक श्रेष्ठ रङ वेका कारण सर्वत्र आलोचित भए । फिल्म पनि सुपरफ्लप भयो । त्यसकारण त अचेल उनी फिल्म क्षेत्रबाट गुमनाम छन् । अचेल दीपक श्रेष्ठको नाम भन्नेबित्तिकै फिल्मकर्मीहरू नाक खुम्च्याउने गर्छन् । एटिएम, रङ वेकी जिया पछिल्लो समय फिल्मविहीन छिन् ।

 

अभिनेता भुवन केसीसँग अफेयरमा रहेकी उनलाई भुवन स्वयंले नै आफ्नो फिल्ममा नलिने बुझ्नमा आएको छ । त्यसैगरी, एटिएमका साथै करामत, ढुंगेयुग, कुर्वानलगायतका फिल्ममा अभिनय गरेकी सोनिया पनि फिल्म अभिनयबाट टाढिएकी छिन् । सबिनाले भने आफ्नो गल्ती स्विकार्दै आगामी दिनमा त्यस्ता उच्छृंखल फिल्ममा नखेल्ने घोषणै गरेकी छिन् । सबिना अभिनीत लाटी फिल्म १५ जेठमा रिलिज हुँदै छ । विजयगोपाल दली र सुरज आरडीले निर्माण गरेको रिङरोड नामक फिल्ममा पनि यौनलाई बढावा दिइयो । सो फिल्ममा उषा खरेल नामक युवतीले खुलेरै यौनजन्य दृश्य दिइन् । अश्लीलता पस्कँदा हिट भइहाल्छु भन्ने ठानेकी उषालाई न कसैले चिने, न खोजे । फिल्म आए–गएको पत्ता भएन । रिङरोड हेर्नेले उनलाई लाज पचेकी केटी भन्दै सरापे । सिलसिला फिल्ममा राज तिमिल्सिनासँगै टङ किस सिन दिएर एकाएक चर्चामा आएकी सोनिया केसी पनि लामो समय टिकिनन् । उनले राज भाइ नामक फिल्ममा पनि खुलेरै अंगप्रदर्शन गरिन् । तर, त्यो फिल्म रिलिज नै भएन । यौनको मामलामा खुलेर अन्तर्वार्ता दिने सोनिया केही समययता फिल्म अभिनयबाट ओझेलमा परेकी छिन् ।

 

निर्माता रिमेश अधिकारीसँग ब्रेकअपपछि उनले फिल्मलाइनबाहिरको पुरुषसँग सुटुक्क घरजम गरेको सुन्नमा आउँछ । एकताका सुमिना घिमिरे पनि यौनजन्य फिल्ममा बग्रेल्ती देखिइन् । उनले नाइन अ’क्लोक, लभ फरएभर, स्टार, हेलो डार्लिङजस्ता फिल्ममा आफूलाई खुलेर प्रस्तुत गरिन् । दुलहीजस्तो सरिफ फिल्ममा शीर्ष भूमिका हेरेका दर्शकले कपडा खोलेकी सुमिनालाई मन पराएनन् । फलस्वरूप उनले अभिनय गरेका फिल्म फ्लप मात्र भएनन्, हुँदाहुँदै उनको हातमा फिल्म पर्नै छाडे । अन्तत: उनले गत फागुनमा सुटुक्क बिहे गरिन् । अब उनी फिल्ममा कहिल्यै फर्किनेछैनन् रे । हिन्दी फिल्म लभ इन नेपालमा गरेको ओभर एक्सपोजका कारण झरना बज्राचार्य निकै आलोचित भइन् । एक त उनले अभिनय गरेका नेपाली फिल्म हिट भएनन् नै, हिन्दी फिल्मबाट पनि उनले सास्ती नै व्यहोर्नुपर्‍यो ।

 

अन्तत: उनले पनि फिल्मलाई माया मार्दै गृहस्थ जीवन रोजिन् । ०५३ सालमा मदन घिमिरेको निर्देशनमा बनेको आमाको माया फिल्ममा बच्चालाई स्तनपान गराएको दृश्य दिएकी अभिनेत्री निलु रायमाझी केही समय चर्चामा छाइन् । तर, पछि उनलाई त्यही चर्चा घाँडो भयो । लाज नभएकी केटी भनेर उनलाई हेय दृष्टिले हेरियो । जसकारण उनको फिल्मी करिअर त्यहीँ स्टप भयो । त्यसैगरी, सम्पत्ति फिल्ममा स्विमिङकस्टम लगाएकी सिनोरा मित्री, धर्म र सान्नानीमा खुलेरै एक्सपोज गरेकी तुलसा सिलवाल, आन्दोलन फिल्ममा पुरुषको बलात्कार गरेकी नीलम केसीहरू टिक्न सकेनन् । उनीहरूको उदय र विलयबाट नवोदितहरूले पाठ सिकिसकेको हुनुपर्ने हो ।

लक्ष्मण सुवेदी/नयाँ पत्रिका

तपाइँको प्रतिक्रिया ।