अनुपमाको जलाएर हत्या गरेको दाबी

अनुपमाको जलाएर हत्या गरेको दाबी

राजविराज समाचारदाता÷धीरेन्द्रप्रसाद साह
राजविराज माघ १० गते । सप्तरीको मलेकपुर –३ की २६ वर्षीया अनुपमाको जलाएर हत्या गरेको माइती पक्षले दावी गरेको छ ।
माइती पक्षले राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त दावी गरेको छ। राजविराज–५ माइती भएकी अनुपमालाई तीन महिना यता पति र सासु ससुराबाट मानसिक तथा शारीरिक यातना दिँदै आएको माईतीपक्षको आरोप छ ।

गत माघ ४ गते अनुपमाको मलेकपुर–३ स्थित रहस्यमय ढंगले जलेर मृत्यु भएको थियो । शरीरको ९० प्रतिशत भाग जलिसकेको अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तत्काल भर्ना गरिएपनि उपचार हुन नसकेपछि थप उपचारका लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा सोही दिन अनुपमाको मृत्यु भएको थियो । अनुपमाका पति मलेकपुर–३ निवासी वैजनाथ साह जेठी पत्नी विणा देवी साह, सासु रामस्वरुप साह र सासुले अनुपमा आवेशमा आएर मट्टीतेल खन्याएर आफै जलेको दावी गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा मृतकका आफ्न्तजनले अनुपमाको हत्या नै गरिएको दावी गर्दै हत्यारालाई उचित कारबाहीका लागि पहल गरी दिनुहुन सञ्चारकर्मी सहित अधिकारकर्मीहरुलाई आग्रह गरेको छ ।

mahila_himsa
पत्रकार सम्मेलनमा छोरीको हत्यारालाई कारबाहीको माग गर्दै भकानो छाडी रुदै आमा रेणुलाई सम्हाल्दै दाजु रञ्जित एवं बहिनी । तस्वीर ः धीरेन्द्रप्रसाद साह÷राजविराज

वि.सं.२०६९ साल बैशाख ४ गते वैजनाथ साहसँग अनुपमाको विहे भएको थियो । जेठी श्रीमती विणा देवीसँग कुनै सन्तान नभएपछि वैजनाथले दुवै पक्षको अभिभावकको सहमतिमा अनुपमासँग दोस्रो विहे गरेको थियो ।

चारमहिना अघिमात्र अनुपमाले छोरो जन्माएकी थिईन । घरमा खुशीयाली छाएको थियो तर त्यो खुशीयाली एक वर्ष पनि टिकन सकेन । त्यसपछि पति र सौता विणा देवीले निरन्तर यातना दिँदै घर छोडन दवाव दिने गरेको बेलाबेलामा बहिनीले फोन मार्फत जानकारी गराउने गरेको पत्रकार सम्मेलनमा दाजु रन्जित साहले बताउनुभयो । दाजु रन्जितले सन्तानकै लागि दोस्रो विहे गरेका वैजनाथले सन्तान पाएपछि आफ्नो स्वार्थ पूरा भएको भन्दै बहिनी अनुपमाको हत्या गरेको बताउनुभयो ।
ज्वाई वैजनाथ र उहाको जेठी श्रीमती विणाले नियोजित ढंगले छोरीको हत्या गरेको भकानो छाडी रुँदै अनुपमाकी आमा रेणु देवीले बताईन् । अनुपमाका पति जेठी श्रीमती तथा सासु ससुराले माईती पक्षलाई कुनै खबरै नगरी हतार हतारमा लास जलाउनाले पनि अनुपमाको हत्या नै भएको पुष्टि गर्छ पत्रकार सम्मेलनमा अनुपमाका पिता रामानन्द साहले बताउनुभयो ।

घटनाको सत्य तथ्य छानविन गरी हत्यारा माथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा पटक–पटक उजुरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको तथा विभिन्न बहानामा आलटाल गरी अनावश्यक दुःख दिने गरेको उहाँले सुनाउनुभयो ।

सो सम्बन्धमा डीएसपी केदार ढकालले घटनाको अनुसन्धान भईरहेको जानकारी दिँदै प्रारम्भिक चरणमा आत्महत्याको केश देखिएपनि सत्यतथ्य कुरा अनुसन्धान पूरा भएपछि मात्र भन्न सकिने बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।