काठमाडौं महानगरको अनुगमन आएपछि कालिमाटीका माछा ब्यापारी पसल थुनेर भागे
कपन अनलाइन
काठमाडौं ,असोज १९।
अनुगमन आएपछि सोमबार बिहान कालीमाटी तरकारी बजारको छेउमा भएका २६ वटा माछा पसल मध्ये १५ वटा पसलका व्यापारी सटर तानेर भागेका छन।
महानगरको अनुगमन टोली बजारमा पुगेर फलफुल बजारतर्फबाट माछा पसलको अनुगमन थालेपछि मुल ढोकातर्फका १५ वटा पसलका व्यापारीले सटर तानेर भागेका हुन् । यस क्रममा कसैले ताल्चा नै लगाउन भ्याए भने कसैले भ्याएनन् । व्यापारीले सटर तान्दा अनुगमन टोली सप्तरी माछा पसलमा भेटिएको ९ किलो सडेको माछा जफत गर्दै थियो । ‘आइस हाल्न बिर्सेछु । माछा त्यति त बिग्रेको छैन । अलिअलि मात्र हो।’ माछा पसलका सञ्चालक मोहम्मद मज्लुम मियाँ आफूलाई बचावट गर्दै थिए ।
व्यापारीहरु भागे त? कैफियत के हो? प्रश्नको उत्तरमा महानगरको पशु सेवा बिभागका पशु सेवा अधिकृत डम्मरबहादर बम भन्दै हुनुहुन्थ्यो — ‘माछाको गुणस्तरमा भन्दा, खरिद बिक्री बिल जारी नगरेकोमा व्यापारी आत्तिएका हृुन् । अनुगमनका क्रममा हेरिएका पसलहरुमध्ये धेरैमा दर्ता, नविकरण र खरिद बिक्री बिलमा समस्या देखियो ।’
खरिद बिक्री बिल जारी नहुँदा माछा कहिले प्याकिङ् गरिएको हो? भन्ने कुरा थाहा हुँदैन । अनुगमनका क्रममा रहनुभएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने ‘खरिद बिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो ।’
‘यो अनुगमनको हामी स्वागत गर्छौं । हाम्रा व्यापारीलाई सुध्रिने समय दिनोस् ।’ अनुगमन गर्दा गर्दै आउनु भएका काठमाडौं माछा बजार समितिका अध्यक्ष बीरेन्द्रकुमार यादवके भने , ‘कानुन नमान्ने व्यापारीलाई कारवाही गर्न हामी पनि सघाउँछौं ।’फोटो सौजन्य : काठमाडौं अनलाइन