‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट

कपन अनलाइन

काठमाडौँ, भाद्र ३० । सुजित बिडारी द्वारा  निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनौट भएको छ । आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रबिन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् ।

फिल्म बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’मा छानिएको हो । कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने प्रावधान रहेको ‘न्यु करेन्ट सेक्सन’ मा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (३५ लाख रुपैयाँ) प्राप्त गर्नेछन् । यो सँगै ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म भएको छ । कान, बर्लिन, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने बुसानको यो २५औं संस्करण हो । कोभिड १९को महामारीका कारण भर्चुअल रुपमा सम्पन्न हुने फेस्टिभल यो साल अक्टोबर २१ मा सुरु भएर ३० मा सकिनेछ ।

सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहेको छ । फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्प संगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।

तपाइँको प्रतिक्रिया ।