सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाइ नागार्जुन नगरपालिकाले कोरोना बिमा गर्दै
कपन अनलाइन
काठमाडौं भाद्र १५ । नागार्जुन नगरपालिकाले नगर भित्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने दुइ हजार जनालाई एक लाख रुपैयाको कोरोना बिमा गर्ने निर्णय गरेको छ । नगरपालिकाको १० वटै वडाका गरि दुइ हजार जनाको एक लाख रुपैयाको दरले कोरोना बिमा गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख मोहन बहादुर बस्नेतका आनुसार कोरोना बाट सबै भन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र शारीरिक रुपमा अशक्त भएका ब्यक्तिहरु पिडित भएको हुँदा उनीहरुको स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाले एक लाख रुपैयाको कोरोना बिमा गर्न लागिएको जानकारी गराए ।
बिहिबार नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्य, केशब पोखरेल, प्रकाश श्रेष्ठ, उप प्रमुख शुशिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, वडा अध्यक्ष लगायतको उपस्थितिमा भएको बैठकले उक्त निर्णय गरेको थियो ।
सो बैठकले बिमा कार्यन्वयन प्रक्रिया तत्काल अगाडी बढाइएको नगरपालिकाले जनाएको छ, साथै इचंगुमा सरकारले ४ सय बेडको आइसोलेशन सेन्टर निर्माण गर्न लागेकाले आवश्यक स्वास्थ्य पूर्वाधार आइसोलेसनमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीको आवश्यक सेवा सुबिधा पुरा गरेर मात्र आइसोलेसन संचालन गर्न समेत नगरपालिकाले माग गरेको छ ।
फोटो : सौजन्य आइ पी एम समाचार