सर्जक माधव न्यौपानेले अस्ट्रेलिया बाट ल्याए, हरियो डलर

सर्जक माधव न्यौपानेले अस्ट्रेलिया बाट ल्याए, हरियो डलर

कपन अनलाइन

काठमाडौं, असार २७  ।लगातार समय सान्दर्भिक गीत निकाल्दै आएका सर्जक माधव न्यौपानेले पनि तीज गीत बजारमा ल्याएका छन् । अस्ट्रेलिया रहेका माधव न्यौपानेको गीतमा माइती जान नपाएकी चेलीको वेदनाभन्दा पनि अस्ट्रेलिया जान नपाएका युवाको कथा व्यथालाई समेटिएको छ । केही वर्षयतादेखि उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ । प्लस टु सकेर वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीको फेसन नै बनिसकेको छ। तीमध्ये धेरैको गन्तव्य अस्ट्रेलिया बन्दै आएको छ । यसैलाई व्यंग्य गर्दै गायक तथा सर्जक माधव न्यौपानेले तीज गीत बनाएका छन् । उनले विदेशको भूत हरियो डलर नाम दिएका छन् । गीतमा युवा युवतीले अस्ट्रेलिया जाने र हरियो डलर कमाउने सपना बुन्छन् । समुद्रको किनारमा घुम्दै सेल्फी खिच्ने र रमाउने योजना गीतको कथामा छ ।

 नेपाल र अस्ट्रेलिया दुवै ठाउँमा छायांकन गरिएको भिडयोले नेपालका युवापुस्ताको चाहनालाई प्रस्ट झल्काउँछ । खुमन अधिकारी र प्रीति आलेको स्वरमा रहेको गीतको लय गायक अधिकारीकै हो । गीतमा शब्द माधव न्यौपानेको छ, भने अभिनय पनि उनी आफैँले गरेका छन् । साथमा प्रतीक्षा अधिकारी पनि छिन् । उनीहरू भएको भिडियो अस्ट्रेलिया खिचिएको हो । यता नेपालमा खिचिएको भिडियोमा भने महेश खड्का सृष्टि खड्काको अभिनय छ । एमएम इन्टरटेन्मेन्ट इभेन्टबाट हालै सार्वजिक गीतको संयोजक कृष्ण विक हुन् । अडियो मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका हुन् । अस्ट्रेलियामा सिनेमाग्राफर श्री पराजुली हुन् ।

 भिडियोको छायाङ्कन सुरेश श्रेष्ठ, निर्देशन प्रकाश भट्ट र सम्पादन विष्णु शर्माले गरेका हुन् । गीत सार्वजनिक भएको छोटो समयमै टिकटकमा भाइरल भएको छ । ‘सिड्नीको सिटीमा सेल्फी खिचौँला, मेलबर्नको सहरमा टिकटक बनाउँला, रमाउँला जमौला, हरिया डलर कमाउँला ’ गीतको यो भागमा टिकटकमा पनि धेरैले अभिनय गरेको देख्न सकिन्छ । यसअघिका सालमा पनि तीज गीत निकालेका सर्जक माधव न्यौपाने भन्छन् ‘तीज गीत असाध्यै मन पर्छ,’ सर्जक माधव न्यौपाने , ‘त्यसैले वर्षेनी गीत निकाल्छु ।’ एक दर्जनभन्दा बढी गीत निकालिसकेका माधव न्यौपाने समाजमा देखिएका यथार्थ र कटु सत्यलाई गीतको माध्यमबाट बाहिर ल्याउने सर्जक मानिन्छन् । उनका यसअघिका १४ अञ्चल ससुराल, बनको न्याउली, लकडाउनको डोरी, ढुकुर ढुकुरनीलगायत गीतले चर्चा कमाएका थिए । ‘गीत भनेको लोकलयमा आधारित, नेपालीपन र नेपाली परिवेश झल्किने हुनुपर्छ,’ सर्जक माबध न्यौपाने भन्छन्, ‘त्यसैले मेरा गीत धेरै रुचाइएका हुन सक्छन् ।’

तपाइँको प्रतिक्रिया ।