कोरोना भाइरसको रोकथामका लागि भएको खर्च विवरण छिट्टै सार्वजनिक हुन्छ : उपप्रधानमन्त्री ईश्वर पोखरेल
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ३१।
सरकारले कोरोना भाइरसको रोकथामका लागि भएको खर्च विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रेस वक्तव्य मार्फत् सरकारबाट खर्चको यथार्थ विवरण चाँडै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्र निर्देशन समिति (सिसिएमसी) का तर्फबाट आज प्रेस वक्तव्यमार्फत् पोखरेलले भनेका छन्, ‘प्रदेश सरकार र स्थानीय तहहरुले पनि आफ्ना कोषहरुबाट यस विषयमा खर्च गरेका छन् । सरकारबाट यसको समग्र फाँटवारी छिटै सार्वजनिक हुने नै छ ।’
कोभिड-१९ रोकथामका लागि १० अर्ब खर्च भएको विषय सार्वजनिक भएपछि सरकारको सर्वत्र आलोचना भएको छ । स्वास्थ्य सामाग्री खरिद देखि क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता भएको विषय बाहिर आइरहँदा पोखरेलको पछिल्लो भनाई सार्वजनिक भएको हो ।
पोखरेलले नेपालले गरिरहेको पिसिआर टेस्ट दक्षिण एशियाका धेरै मुलुकहरुको भन्दा अधिक भएको दाबी गरेका छन् । विदेशबाट भित्रने नेपालीहरुको संख्या ह्वात्तै बढेकाले क्वारेन्टिनहरुको व्यवस्थापनमा समस्या देखिएको स्वीकारेका छन् ।
उपप्रधानमन्त्री पोखरेलले लकडाउनका बखत प्रदर्शन नगर्न आग्रह गरेका छन् । लकडाउन खुकुलो बनाएको अवस्थामा कोरोना भाइरसको जोखिम बढ्नसक्ने भन्दै प्रदर्शन नगर्न आग्रह गरेका छन ।
उपप्रधानमन्त्री पोखरेलले भनेका छन्, ‘संक्रमण बढ्दै गइरहेको र आगामी दिनमा यसमा थप वृद्धि हुने जोखिम देखिएको छ ।’ उच्च जोखिम रहेको अवस्थामा गम्भीर र संवेदनशील हुन विशेष आग्रह गरेका छन् ।