फेरिएला त ह्यान्डबल मैदान कपन ?
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २९/पुन्यराज पुडासैनी
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको ह्यान्डबल मैदान कपन क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने पूर्वाधार हो।नगरपालिकाका वडा नं १० ,११, १२सहित अन्य क्षेत्रका खेलप्रेमीहरुको प्रिय स्थानका रुपमा रहेको यो मैदानको अवस्था भने त्यस मैदानको प्रवर्धन ,विकास र विस्तारको जिम्मा लिनेहरुको मनोदशा झैँ अलपत्र र अनिश्चित जस्तै देखिएको छ।
कपन क्षेत्रको यो मैदान वर्षौ देखि खेल संगै अनेकौ दाउपेच ,राजनीति र प्रतिष्ठाको लडाई लड्ने मैदान बनिरहेको छ। अहिले त्यस मैदान वरपर राजनीतिक पहुच देखाउने,प्रतिष्ठा जोगाउने अनि नाम लेखाउने रहरका अर्ध निर्मित संरचनाहरुले सबैलाई जिस्काईरहेका छन।
नगरपालिका बन्नु भन्दा अगाडी साविक कपन गाविस रहेको अवस्थामा नै पटक पटक मैदानको गुरु योजना भनेर प्रस्तुतीकरण गरिएको भएता पनि त्यो पहल कर्ताको मगज र प्रस्तुतीकरण गरिएको कोठा भन्दा बाहिर अहिले सम्म आएको देखिदैन। कमजोर भूगोलका कारण मान्छेको ज्यान जादा समेत मैदान निर्माणको ठोस योजना अगाडी आएको थिएन र छैन।
यसै प्रस्तुतीकरणको पछिल्लो शृंखला बुढानिलकण्ठ नगरपालिकामा पनि भएको थियो जहाँ ह्यान्डबललाई कपन र कपनका सामाजसेवी मिठाराम अधिकारीलाई ह्यान्डबल भित्राउने रामकृष्ण केसीले यसको बजेट व्यवस्थापनका वारेमा नगरप्रमुखलाई प्रश्न गरेका थिए।उनको प्रश्नमा प्रमुख उदव प्रसाद खरेलले त्यसको जिम्मा नगरपालिकाले लिने प्रतिवाद्त्ता व्यक्त गरेका थिए।
१२ करोड भन्दा बढीको लागतमा सो स्थानमा ह्याण्डबल मैदान, ७ ए साइड फुटवल मैदान,टेवल टेनिस सहित अन्य संरचना बनाउने गरि बृहत योजना प्रस्तुत गरिएको सो अवसरमा विभिन्न जिम्मेवारी र स्वरुपमा सो मैदान संग सरोकार राख्ने व्यक्तिहरुको उपस्थिति रहेको थियो।
ह्यान्डबल खेलका रास्ट्रिय र अन्तरास्ट्रिय प्रतियोगिता आयोजना भएको सो मैदानको अन्त रास्ट्रिय खेल केन्द्र बन्ने सम्भावना कसले तेल थप्ने भन्ने होडवाजिमा मलिन बनेको दियो झैँ भएको त्यहाँ भएका विभिन्न समिति मध्ये एक समितिका सदस्यले बताए।
“अव पहुच नभएर बनेन भनौ भने यस मैदानका समितिमा बसेका ब्यक्तिहरु प्रति व्यंग्य हुन्छ ,तर परिणाम हेर्न भने मैदानमै गए छर्लंग भैहाल्छ, ” उनको तिखो टिप्पणी रहेको छ।
ह्यान्डबल खेलका अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको त्यहि मैदानको ठेगाना भजाएर धेरैले पद पड्काए पनि मैदान भने अहिले पनि कपन क्षेत्रको “प्रतीकात्मक” गौरवको विषय भन्दा कतै उठेको छैन।
यो मैदान निर्माण नहुनुमा व्यक्ति भन्दा पनि प्रवृतिगत सोच प्रदान रहेको छ। मेरो पहलमा बन्ने हुदा सपाट अर्काले गर्न खोज्दा समस्याको चांग देखाउने प्रवित्तिको मार पटक पटक खेप्दै आएको यस मैदानको निर्माणका लागि अहिले भने निकै सहज अवस्था आएको छ। कुनै ब्यक्ति विशेषको कमजोरी भन्दा पनि गलत प्रयास र अभ्यासको भुमरी बाट निस्कने संघारमा रहेको सो मैदान निर्माणको जिम्मेवारी बुढानिलकण्ठ नगरपालिकाको काधमा आएको छ।
ह्यान्डबल खेल मैदान विस्तार र निर्माण वारे के भन्छ बुढानिलकण्ठ नगरपालिका ?
बुढानिलकण्ठ नगरपालिकाका तिन वटा वडाहरुको महत्वपूर्ण खेलकुद पूर्वाधार रहेको ह्यान्डबल मैदान विस्तार तथा निर्माण कार्यको पहिलो चरणका लागि असार महिना भित्र टेन्डर आव्हान गर्ने तयारी गरिएको नगर प्रमुख उद्दव खरेलले बताएका छन।
सरोकारवाला पक्षहरु संगको पटक पटकको छलफल पश्चात मैदान क्षेत्रको भौगोलिक संवेदनशीलता र संरचनाका आधारमा मैदानको DPR निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिदै प्रमुख खरेलले त्यसको लागि बजेट व्यवस्थापन नगरपालिकाले गर्ने बताएका छन।
सो मैदानको संरक्षण र विकासमा हाल सम्म योगदान दिएका सबै संघ संस्था र व्यक्तिहरुको सुझाव र सल्लाहका आधारमा दोस्रो चरणमा सो क्षेत्रमा संरचना निर्माण गरिने बताउदै प्रमुख खरेलले सो मैदान क्षेत्रलाई बहुउपयोगी खेलकुद केन्द्र बनाउने नगरपालिकाको योजना रहेको बताए।
कपन तथा आसपासका क्षेत्रका खेलाडीहरुको प्रशिक्षण स्थल,विद्यालय ,युवा क्लव तथा अन्य संघ संस्थाले नियमित प्रतियोगिता आयोजना गर्दै आएको सो मैदानवडाको विशेष भौतिक योजना रहेको भन्दै वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले चाडै मैदानको विस्तार तथा विकास कार्य शुरु गर्ने तयारीमा रहेको बताएका छन।
कसैलाई व्यक्तिगत दोषारोपण गर्नु ह्यान्डबल मैदानलाई फेरी पनि यथास्थितिमा राख्ने गलत अभ्यास हुने भएकोले अवका दिनमा यसलाई निर्माण गर्ने एक मात्र उदेस्य हुनुपर्ने देखिन्छ।
वर्तमान राष्ट्रपति ,उपराष्ट्रपति देखि सबै सिर्सस्थ नेताहरुले भाषण गरेको यस मैदानको निर्माण र विस्तारमा रहेका चुनौतीको सामना गर्दै खेलकुद विकासको माग बनाउने जिम्मेवारी अहिले वडा नं १० का अध्यक्ष नवराज भट्टराई संग आइपुगेको छ।सो मैदान निर्माणमा प्रत्यक्ष परोक्ष रुपमा भूमिका खेल्ने पात्र र प्रवृतिलाई राम्रो संग बुझेका अध्यक्ष भट्टराईका अगाडी आएको सुखद अवसरलाई सदुपयोग गरेर एउटा ठुलो पूर्वाधार स्थापना गर्ने सम्भावना देखिन्छ।
त्यस्तै पहिलो स्थानीय तहको निर्वाचनमा करिव १ घण्टा आफ्ना योजना सुनाउन खर्चिएका नगर प्रमुख उद्दव खरेलको प्रतिवदत्ताले सार्थकता पाएको हेर्ने आशमा रहका कपन क्षेत्रका जनाताले अर्को पटक भाषण गर्न आउदा सो मैदान फेरिएको हेर्न चाहेको देखिन्छ।
अव ह्यान्ड बल मैदानको स्वरूप फेरिन्छ वा नगर प्रमुखको प्रतिवदत्ता त्यो भने आउने समयले देखाउने नै छ।