कपन अनलाइन 

हेटौडा ,जेष्ठ २३।

वागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी “पुष्पलाल प्रदेश चक्रपथ” निर्माण गर्ने भएको छ।प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई समेट्ने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

बागमती  प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रूपमा सरकार गठन भएको पहिलो वर्षकै नीति तथा कार्यक्रममा समावेश गरेको चक्रपथ निर्माण योजनालाई आगामी आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयन गरिने  भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिएका छन।

उनले चक्रपथको सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन निर्माणको तयारी थालिएको जानकारी दिदै प्रदेशका ६६ वटै प्रदेश निर्वाचन क्षेत्रलाई कुनै न कुनै हिसाबले समेट्ने गरी विशाल चक्रपथ निर्माण हुने बताए।

फुँयालले हेटौँडादेखि काठमाडौँसम्म जोड्ने मदन भण्डारीमार्गअन्तर्गत भैँसे–भीमफेदी र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक दुई लेनमा स्तरोन्नति गर्ने कार्य भइरहेको र चाँडै नै कालोपत्रको काम पनि सुरू हुने जानकारी दिदै  पुष्पलाल प्रदेश चक्रपथ रामेछापबाट–दोलखा–काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक–रसुवा–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली हुँदै पुनः रामेछाप जोडने योजना रहेको बताएका छन ।

प्रदेश सरकारले मुख्यमन्त्री सडक कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम सँग स्थानीय तहहरूको केन्द्र जोड्ने सडक सङ्घीय सरकारसँग सहकार्यमा  निर्माणलाई निरन्तरता दिने बताउदै मन्त्री फुयालले  काठमाडौँ उपत्यकाका तीनै जिल्लाका काँठ क्षेत्रमा हाल सञ्चालनमा रहेका सडकलाई स्तरोन्नति गरी काँठ चक्रपथका रूपमा विकास गर्ने योजना  सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।