काठमाडौं महानगरपालिका वडा नं १५ मा १७ सय ५० जनालाई दैनिक निशुल्क भोजन
कपन अनलाइन
काठमाडौं ,बैशाख २१।
काठमाडौं महानगरको वडा नं १५ मा दैनिक औसतमा १७ सय ५० व्यक्तिलाई निशुल्क भोजन अभियान निरन्तर रहेको छ । यस अघि ४ ठाउँबाट सामुहिक मेस चलेकोमा आजबाट अन्नपूर्ण चोकमा थप गरेर ५ ठाउँबाट सामुहिक खाना खुवाउने प्रबन्ध गरेको छ ।
कोरोना संक्रमणबाट हुन सक्ने महामारी रोक्न सरकारले गरेको लडकडाउनका समयमा दैनिक खाना खान समस्या पर्नेहरुलाई लक्षित समूह बनाएर चैत्र २९ गते स्वयम्भू भुइँखेलबाट खाना खुवाउने काम शुरु गरिएको हो ।
यस ठाउँबाट अहिले पनि औसतमा दैनिक ६०० व्यक्तिले खाना प्राप्त गरिरहेका छन् । यससँगै बुद्धपार्कबाट दैनिक ३५० जनालाई, चमतीबाट ४०० जनालाई खाना उपलव्ध गराइदै आइएको छ ।
वडाले तयार गरेको भान्छामा आउने सबैलाई खाना खुवाउने गरेको वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउदै व्यक्ति—व्यक्ति बीचको सामाजिक भौतिक दुरी मिलाएर दैनिक भोजन उपलव्ध गराइएको उनले जानकारी दिए।
आउनेको ज्वरो मापन गर्छौ, व्यक्तिलाई निसंक्रमण गराउँछौं र खाना खुवाउँछौं । यो क्रम कहिलेसम्म चल्छ त? प्रश्नको उत्तरमा डंगोल भन्नुहुन्छ — सरकारले जारी गरेको लकडाउन अवधिभरि निश्चित नै खुवाउँछौं । त्यसपछिको अवस्था हेरेर थप गर्ने कि नगर्ने भनेर निर्णय लिन्छौं । निरीक्षणका क्रममा वडा सदस्यहरु र स्वयम्सेवकहरु पनि सहभागी हुनुहुन्थ्यो ।
महानगरका अन्य वडाहरुले पनि सामुहिक भोजनको व्यवस्था गरेका छन् । महानगरको प्रशासन बिभागका प्रमुख नमराज ढकालका अनुसार आजसम्ममा १ लाख बढी मानिसहरुलाई खाना खुवाइसकिएको छ । त्यस्तै ८५ हजार जनाभन्दा बढीलाई राहत सामाग्री उपलब्ध गराइसकिएको छ ।फोटो सौजन्य :काठमाडौं अनलाइन