गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा विपद व्यवस्थापन समितिको बैठक सम्पन्न
कपन अनलाइन
काठमाडौं,बैशाख १८। गोकर्णेश्वर नगरपालिका वडा नं मा गठित विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा वडा सदस्यहरु बाल कृष्ण श्रेष्ठ, उमा थापा, जयराम महत ,वडा सचिब नवराज सेन सहित विपद व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
उक्त बैठकमा राहत वितरणको समिक्षा गरिनुको साथै लकडाउन लम्बिदै जाँदा सर्वसाधारणलाइ परेको समस्या समाधान कसरी गर्न सकिन्छ , लकडाउनलाइ थप प्रभाबकारी बनाउने, आपतकालीन सेवा, शान्ती सुरक्षा लगायतको बिषयमा छलफल गरिएको थियो । त्यस्तै कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा विभिन्न संघ सस्था तथा सहयोगी दाताहरुको सहयोगमा संचालित निशुल्क खाना अभियानको दौरान भएका कठिनाइ र अपनाउनु पर्ने सुरक्षात्मक उपायको बिषयमा समेत छलफल गरिएको थियो।
बैठकमा वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले हाल सम्म सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गरेका थिए । उनले विषम परिस्थितिमा सबैको सहयोग आवश्यक रहेको बताएका थिए उनले अहिले सम्म वडा बासीको सहयोगको कारण वडामा कुनै पनि व्यक्तिलाई कोरोना संक्रमण नदेखिएको बताए। उनले तर यसो भन्दैमा सतर्कता अपनाउन छोड्नु नहुने बताए ।