कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना परिक्षणका लागि नमुना संकलन केन्द्र स्थापना
कपन अनलाइन
काठमाडौं बैशाख १ ।कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा कोरोना टेष्ट गर्नका लागि बायो मेडिकल नमुना सकलन केन्द्र स्थापना भएको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को टेष्ट गर्नका लागि उक्त बायो मेडिकल नमुना संकलन केन्द्र स्थापना गरिएको हो ।
कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर उमेश जंग थापाको विशेष पहलमा कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित नगर अस्पताल) मा सो केन्द्र स्थापना गरिएको हो ।बायो मेडिकल नमुना संकलन केन्द्र स्थापना संगै कोरोनाको टेष्ट गर्नका लागि सहज हुने इन्जिनियर उमेश जंग थापाले बताएका छन् ।
इन्जिनियरहरु उमेश जंग थापा, माधव कार्की, संजिव प्रताप राणा, सुमित चाापगाई र राजन फुयालले व्यक्तिगत लगानीमा सो केन्द्र बुथ स्थापना गरेका हुन् ।उक्त केन्द्र स्थापना गर्नका लागि ८० हजार जति रुपैयाँ खर्च भएको इन्जिनियर उमेश जंग थापाले जानकारी गराए ।
सो बुथबाट स्वाबको नमुना लिंदा सामान्य पिपिई मात्र प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने र स्वास्थ्यकर्मीलाई कोरोना भाइरस को संक्रमणको खतरा कम हुने इन्जिनियर थापाको भनाइ रहेको छ । सम्भवत काठमाडौंमै इन्जिनियरहरुको पहलमा कोरोना भाइरस (COVID-19) को टेष्ट गर्नका लागि निर्माण गरिएको यो बायो मेडिकल नमुना संकलन केन्द्र पहिलो भएको पनि इन्जिनियर थापाको दाबी रहेको छ ।
फोटो :स्थानीय सरोकार