सुवर्ण शम्शेरको फोहोरले जिस्काइरहेछ

सुवर्ण शम्शेरको फोहोरले जिस्काइरहेछ
कपन अनलाइन
काठमाडौँ,माघ २१ ।बुढानिलकण्ठ नगरपालिका वडा -१३ मा निर्माणाधीन रहेको सुवर्ण शम्शेर क्रीकेट मैदान फोहोर फाल्ने स्थानमा परिणत हुँदै सबैलाई जिस्काइ रहेको छ।
उक्त स्थानमा जाने जोसुकैले पनि कहिले बनभोज खाने त कहिले म्युजिक भिडियो शुटिङ गर्ने देख्छन् तर जुन उद्देश्य लागि अहिलेसम्म करोडौं रकम खर्च भएको छ सो भने देख्न पाइदैनन् । तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले शिलान्यास गरेको क्रीकेट मैदान निर्माणको काम कछुवाको भन्दा पनि ढिलो गतिमा हिडिरहेको छ भने यसको द्रुत निर्माणका लागि खासै पहल भएको पनि देखिदैन ।
माथिको तस्बिरमा देखिएको फोहोरको डङ्गुरले  जो कोहिलाई जिस्काइरहेको छ भने करोडौंको सार्वजनिक सम्पत्ति केहि पर्खाल र सिमित संरचनामा समेटिएको छ।
काठमाडौं क्षेत्र -४ का प्रतिनिधि सभा सदस्य गगन थापाले चुनावी नारा बनाएर बजेट समेत ब्यवस्थापन गरेको मैदान निर्माणले गति नलिदा यसले नगरपालिका र अन्य क्षेत्रका खेलप्रेमीहरुको मन पक्कै दुखित बनाएको छ। बुढानिलकण्ठ नगर प्रमुखको प्रातकालिन भ्रमण गर्ने सो स्थान प्रदेश सभा सदस्य न्युछे नारायण श्रेष्ठको गाउँ हो। यसको द्रुत निर्माणका लागि उनले पनि देखिने पहल गर्न सकेका छैनन् भने चुनिखेल क्षेत्रलाई कृषि र पर्यटनको हब बनाउने योजना अगाडि सारेका प्रदेश सभा सदस्य कुसुम कुमार कार्कीले पनि अलपत्र यो योजनाको वारेमा कहि कतै बोलेको पाइदैन ।
यी त भए यस योजना सङ सरोकार राख्ने पक्ष र ब्यक्तिहरु तर यसको प्रत्यक्ष भुमिका निर्वाह गर्ने भनेको सुवर्ण शम्शेर प्रतिस्ठान हो । जसको नेतृत्व र प्रत्यक्ष सम्लग्नतामा यो निर्माण भैरहेको छ। यस समितिले नै अहिलेसम्मको निर्माण र अन्य कार्य गर्दै आएको छ ।  समितीले उक्त रंगशाला निर्माणका लागि जग्गा ब्यवस्थापन गर्ने उदेश्यले काभ्रेपलान्चोक जिल्लामा जग्गा खरिद गरेर जिल्ला बन कार्यालय काठमाडौंको नाममा पास गरि बुढानिलकण्ठ -१३ को जग्गा प्रतिस्ठानको नाममा कायम गरिएको प्रतिस्ठानका अध्यक्ष धुर्व खड्काले जानकारी दिएका छन ।
नेपाली काङ्ग्रेसका नेताको नाममा रहेको प्रतिस्ठानमा काङ्ग्रेस मात्र सदस्य बन्न पाउने हो कि ? भन्ने प्रश्नमा खड्काले त्यस्तो कुनै प्रावधान नरहेको र यस्मा जो सुकै सदस्य बन्न पाउने बताए । नेपाल सरकार , सांसद विकास कोष, जिल्ला खेलकुद विकास समिती तथा अन्य श्रोतबाट करोडौं रकम खर्च भै सकेको यस रंगशाला निर्माण कार्य रोकिदा यसले सरोकारवालाको खेलकुद विकास प्रतिको प्रतिवदत्तामा नै प्रश्न खडा गरिदिएको छ भने यसले काठमाडौं -४ मा ठुला संरचना निर्माण प्रतीको उदासीनता पनि देखिएको छ।
तपाइँको प्रतिक्रिया ।