नेपाली कांग्रेसका नेता रामहरी खतिवडाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई झोला वितरण

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाद्वारा जन्मदिनमा  विपन्न विद्यार्थीलाई झोला वितरण

कपन अनलाइन

काठमाडौं ,पौष २४।

नेपाली कांग्रेसका नेता एबम पुर्व सांसद रामहरी खतिवडाले आफ्नो जन्मदिनको अवसरमा विपन्न विद्यार्थीलाई विद्यालय झोला प्रदान गरेका छन् ।

अधिकांश विपन्न परिवारका बालबालिका अध्ययन गर्ने ओखलढुंगा सदरमुकाममा रहेको बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीलाई खतिवडाले किताब बोक्ने विद्यालय झोला प्रदान गरेका हुन् ।बालमन्दिरमा अध्ययनरत ४५ जना बालबालिकालाई विद्यालय झोला वितरण गरिएको छ ।

त्यहा अध्ययन गर्ने अधिकांश बालबालिका विपन्न परिवारका रहेको विद्यालयले जनाएको छ । त्यसैले उनिहरुको शैक्षिक विकासका लागि जन्मदिनको अवसरमा विद्यालय झोला उपलब्ध गराएको खतिवडाले बताएका छन् । ‘सम्पन्न परिवारका छोराछोरीहरु निजी विद्यालयमा पढ्न जान्छन् ।’ उनले भने ‘यहाँ अधिकांश विपन्न परिवारका बालबालिका शिक्षा आर्जन गर्न आउछन्, उनिहरुको शैक्षिक विकासका लागि एकै प्रकारको झोला वितरण गरेको हुँ । यसले बालबालिकामा समानताको बोध गराउने छ ।’

यसका साथै पुर्व सांसद तथा नेपाली कांग्रेसका युवा नेता खतिवडाले विद्यालयलाई दुई थान ह्वाईट बोर्ड समेत उपलब्ध गराएका छन् ।

‘विद्यालयमा ह्वाईट बोर्डको अभाव थियो, अब शिक्षण गर्न सहज हुने भयो,’ विद्यालयकी प्रधानाध्यापक शोभा सैंजुले बताईन । विद्यार्थीका लागि झोला र विद्यालयलाई ह्वाईट बोर्ड सहयोग गरेका खतिवडालाई विद्यालयको तर्फबाट प्रधानाध्यापक सैंजुले धन्यवाद व्यक्त गरेकी छिन् ।

यसका साथै विद्यालयको भवन जिर्ण भएकाले नयाँ भवन र तारबारका लागि पहल गरिदिन प्रधानाध्यापक सैंजुले पुर्व सांसद तथा युवा नेता खतिवडालाई आग्रह गरेकी छिन् । खतिवडाका प्रतिनिधी कोपिला श्रेष्ठ मार्फत विद्यार्थी र विद्यालयलाई एक कार्यक्रमको आयोजना गरि सामाग्री हस्तान्तरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।