३ नम्बर प्रदेश स्तरीय अन्तरनगर महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाको बिजयी सुरुवात

३ नम्बर प्रदेश स्तरीय अन्तरनगर महानगर कप  महिला तथा पुरुष भलिबल प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाको बिजयी सुरुवात

कपन अनलाइन

काठमाडौं पौष २१ ।ललितपुर महानगरपालिकाको १०१ औ स्थापना दिवसको अवसरमा आयोजित ३ नम्बर प्रदेश स्तरीय अन्तरनगर महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७६ मा गोकर्णेश्वर नगरपालिकाले बिजयी सुरुवात गरेको छ  ।गोकर्णेश्वर नगरपालिकाको आज भएको दोश्रो खेलमा पुरुष तर्फ धुलिखेल नगरपालिकालाई २५-२३, २५-१५,२५-१९ ले पराजित गर्न सफल भएको छ ।  त्यसै गरि गोकर्णेश्वर नगरपालिकाको  महिला खेलाडीहरुले पनि बिजयी सुरुवात गरेका छन्।  उनीहरुले पहिलो खेलमा बिदुर नगरपालिकालाई २५-१७, २५-११,२५-५ ले पराजित गर्न सफल भएका थिए ।

जावलाखेलको भलिबल प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा पुरुषतर्फ १३ र महिलाको ८ गरी २१ टिमको सहभागिता रहेको  छ ।प्रतियोगिताको महिलातर्फ ८ र पुरुषतर्फ १३ टोलीको सहभागिता रहेको बताइएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको महिलातर्फ ललितपुर महानगरपालिका, हेटौडा उप महानगरपालिका, बनेपा, टोखा, चन्द्रागिरी, गुप्तेश्वर, गोकर्णेश्वर नगरपालिका र विदुर नगरपालिकाले  सहभागिता जनाएको छ   ।

ललितपुर महानगरपालिकासहित बनेपा, टोखा, महालक्ष्मी, गोदावरी, पनौती, धुलीखेल, भक्तपुर,कीर्तिपुर, कमला माई, गोकर्णेश्वर,कागेश्वरी मनहरा र चौतरा सांगा गडी नगरपालिकाले पुरुषतर्फ प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगितामा प्रदेश ३ को महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिको टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विभागीय टिम र राष्ट्रिय टिमबाट खेलेका खेलाडीले भने सहभागिता जनाउन  पाइने छैन  ।

पुस १९ देखि २५ गते सम्म चल्ने  उक्त  प्रतियोगिताका दुवैतर्फका विजेता टोलीले २ लाख, दोस्रो टोलीले १ लाख, तेस्रोले ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै दुवै उत्कृष्ट स्पाईकर, ब्लकर, सेटर, डिफेन, सरभर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ पाउनेछन् ।

 खेलमा सहभागी हुने टिमलाई गोकर्णश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले  ट्रयाक तथा जर्सी समेत  वितरण गरेका थिए । उक्त ट्रयाक तथा जर्सी वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका खेलकुद शाखा प्रतिनिधी राजन श्रेष्ठ , नेपालय ईङलिस पब्लिक स्कुलको प्रबन्धक निर्देशक बुद्ध श्रेष्ठ , जोरपाटी फुटबल क्लबको सचिब तथा यस प्रतियोगिताको संयोजक कृष्ण प्रसाद नेपाल लगायत उपस्थित रहेका थिए ।

तपाइँको प्रतिक्रिया ।