होङ्गान्जी न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस २३ देखि

होङ्गान्जी न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस २३ देखि

कपन अनलाइन

काठमाडौं,पुस २१ । न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा हुने तेश्रो होङ्गान्जी न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस २३ देखि सुरु हुने भएको छ । उक्त प्रतियोगितामा ७ टिमले भाग लिने भएका छन् ।

पुस २३ देखि सुरु  भएर २६ गते सम्म चल्ने उक्त  प्रतियोगितामा  ७ टिमको सहभागिता निश्चित भएको प्रतियोगिता संयोजक कुमार राईले  आइतबार आयोजित पत्रकार सम्मेलनमा  जानकारी गराए । प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब, नेपाल प्रहरी, पोखराको टप्स उमावि, नेपाल आर्मी, कुलेश्वरको पारामाउन्ट इङलिस बोर्डिङ स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा होङ्गान्जी बौद्ध समाज रहेको छ । गत वर्ष पनि मुख्य प्रायोजक रहेको होङ्गान्जीले यो वर्ष प्रायोजन वापत नगद र जिन्सी गरी जम्मा १५ लाख दिने भएको छ । गत वर्ष होङ्गान्जीले ५ लाख रुपैयाँ दिएको थियो । सम्झौता अनुसार होङ्गान्जीले पहिलो किस्ता वापत प्रथम र दोश्रो हुने टिमको नगद पुरस्कार होङ्गान्जीका कन्ट्री म्यानेजर सोनाम वाङ्दी भुटियाले हस्तान्तरण गरेको संयोजक राईले जानकारी दिए । प्रथम पुरस्कार ४ लाख १ सय १ रुपैयाँ तथा दोश्रो पुरस्कार ३ लाख १ सय १ रुपैयाँ नगद राखिएको छ । तेश्रोले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथोले ५१ हजार १ सय १ रुपैयाँ नगद पुरस्कार पाउने छन् । तेश्रो पुरस्कारको राशी मुक्तिनाथ विकास बैंक तथा चौथो पुरस्कार निलगिरी युथ क्लबले प्रायोजन गर्ने भएको छ ।

त्यस्तै ब्ल्याक हर्स सुजले चौथो पुरस्कारको रकम बराबर आर्थिक सहयोग प्रदान गर्ने बताइएको छ । सात व्यक्तिगत उत्कृष्ट विधाको पुरस्कार जनही ७ हजार १ सय १ रुपैयाँ श्रद्धधा फाइनान्स, न्युरोडले उपलब्ध गराउने भएको छ । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार, चन्द्रागिरी नगरपालिकाको वडा १५ ले ३० हजार, वडा ६ का अध्यक्षले व्यक्तिगत १० हजार र वडाको तर्फबाट १० हजार उपलब्ध गराउने जानकारी दिइयो । सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार १ सय १ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले आयोजक न्यु डायमन्डकी अध्यक्ष सुनकेशरी माली र संयोजक राईलाई सहयोग स्वरुप ५ थान भलिबल हस्तान्तरण गरे । ‘खेलाडी उत्पादनमा न्यु डायमन्डको योगदान त थियो नै । अब प्रतियोगिता गरेर भलिबलको विकासमा पनि सहयोग भएको छ । आर्थिक हिसाबले के सहयोग गर्न सक्छौं । त्यसमा पनि हामी छलफल गर्छौ ।’– महासचिव चन्दले भने ।

होङ्गान्जीका कन्ट्री म्यानेजर भुटियाले भविष्यमा पनि प्रतियोगितालाई साथ दिने प्रतिबद्धता जनाए । अध्यक्ष मालीले प्रायोजक सबैलाई धन्यवाद दिदै प्रतियोगिताको तयारी लगभग पूरा भएको जानकारी गराइन् । प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबमा हुने छ ।

तपाइँको प्रतिक्रिया ।