नेपाल भ्रमण वर्ष २०२० को अवसरमा संचालन हुने सप्ताहव्यापी ‘स्वयम्भू साँस्कृतिक कार्यक्रम’ उद्घाटन
कपन अनलाइन
काठमाडौं, पुस १७ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘स्वयम्भू साँस्कृतिक कार्यक्रम’ काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यको सभापतित्वमा बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
बिश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भू स्तुपा र यस वरपर रहेका मौलिक, साँस्कृतिक तथा पर्यटकीय महत्वका ऐतिहासिक धरोहर, सम्पदा र सँस्कृतिहरुको संरक्षण, सम्बर्धन र प्रबर्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न प्रभावकारी सुरक्षा ब्यवस्थापनमा सामुदायिक सहभागिता अभिबृद्धिका लागि काठमाडौं महानगरपलिका-१५ समितिद्वारा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले कार्यक्रमबारेमा चर्चा गर्दै यसको माध्यमबाट काठमाडौं महानगर सहयोगापेक्षी मुक्त बनाउन सबै पक्ष संयुक्त रुपमा लाग्नुपर्नेमा जोड दिए।
सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय-प्रहरी सझेदारी अन्तर्गतको यस कार्यक्रमको माध्यमबाट समुदायमा प्रहरी र नागरिक बिचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास ब्यक्त गरे । समुदायमा हुने बिभिन्न किसिमका अपराधहरूको रोकथामको लागि प्रहरी सदैव जनतामा समर्पित रहेको चर्चा गर्दै कार्यक्रमको माध्यमबाट नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन अझै तत्पर भई लाग्न प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिए ।
प्रदेश नम्बर ३ का सांसद जिवन राम श्रेष्ठले समुदाय-प्रहरी साझेदारीको माध्यमबाट नै जनतामा चेतना अभिबृद्धि गर्न सकिने र आगामी दिनमा यस्ता कार्यक्रमको माध्यमबाट सामाजमा हुन सक्ने अपराधको रोकथाम गर्न प्रहरी र जनता संयुक्त रुपमा लाग्नुपर्ने बताउए।
उक्त कार्यक्रममा सुरक्षा निकायका बरिष्ठ अधिकृतहरु लगायत स्थानीय ब्यक्तिहरू, बिभिन्न बिद्यालयका बिद्यार्थि तथा शिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम पुस २२ गतेसम्म संचालनमा रहने महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
फोटो सौजन्य: नेपाल प्रहरी