काठमाडौंमा नमूना सार्वजनिक शौचालय बनाउन गैर आवासीय नेपाली संघको प्रस्ताव
कपन अनलाइन
काठमाडौं, पुस ३ । काठमाडौं महानगरमा अन्तरराष्ट्रिय गुणस्तर र सुबिधायुक्त सार्वजनिक शौचालय निर्माण गर्न गैर आवासीय नेपाली संघले अध्ययन गरेको छ ।
यसका लागि कलंकी, बालाजु, राष्ट्रपति कार्यालयको अघिल्तिर, जयबागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन सकिएको छ । बिहीबार महानगरको सहरी योजना आयोगको सभाकक्षमा आयोगका उपाध्यक्ष सरोज बस्नेत र वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठसहितका अधिकारीसँग संघका उपाध्यक्ष सोनाम लामा र प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीसहितका अधिकारीले भेटेर यस सम्बन्धि जानकारी गराएका हुन् ।
यस सम्बन्धि जानकारी लिइसकेपछि आयोगका उपाध्यक्ष बस्नेतले सार्वजनिक शौचालय निर्माणमा भन्दा यसको दिगो सञ्चालनमा योजना गर्नुपर्ने बताए । एउटाले शौचालय बनाउने अर्कोले चलाउने कुरालाई महानगर अब स्वीकार गर्दैन । उपाध्यक्ष बस्नेतले भनेशौचालय निर्माण गर्दा त्यहाँ उपलब्ध हुने सुबिधा र त्यहाँबाट उत्पादन भएको तरल फोहोर वस्थापनको पूर्ण योजना भएपछि मात्र काम अगाडि बढाउन मिल्छ । अब हामी शौचालयबाट निस्किने पानी ढलमा पठाउने कल्पना गर्दैनौं । छलफलका क्रममा योजना आयोगका सदस्य मनराजा रञ्जितले आवश्यकता अध्ययन गरेर उपयुक्त ढाँचाको शौचालय निर्माण गर्ने योजना गर्नुपर्ने धारणा राखे ।
त्यस क्रममा वातावरण व्यवस्थापन बिभागका प्रमुख श्रेष्ठले भने पानीको सहज उपलब्धताले मात्र शौचालय व्यवस्थित हुने भएकोले शौचालय निर्माणसँग एकैचोटी पानीको श्रोत पनि व्यवस्था गर्नुपर्ने बताए।
त्यस क्रममा बोल्दै संघका उपाध्यक्ष सोनाम लामाले जनताको सुबिधाका लागि संघले महानगरको सहकार्यमा नमूना शौचालय बनाउने योजना बनाएको उल्लेख गर्नुभयो । हामी भोलि आलोचना हुने, गुणस्तरमा प्रश्न उठ्ने काममा हात हाल्न चाहँदैनौं । प्रचलित मापदण्डले हुँदैन भनेको काम गर्दैनौं । जनतालाई सेवा दिउँ भन्ने हाम्रो चाहना हो, उपाध्यक्ष लामाको भनाइ थियो । संघले काठमाडौंका धेरै ठाउँ हेरेको छ, तीमध्ये अहिले कलंकी चोक र राष्ट्रपति कार्यालय अघिल्तिरको भागमा शौचालय निर्माण तथा सञ्चालन गर्ने हाम्रो योजना बनेको छ, बैठकमा संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीले योजना सुनाए।
संघले अघि सारेको प्रस्ताव अनुसार कलंकीमा निर्माण हुने शौचालय ४० फिट लम्बाइ र १६ फिट चौडाइको हुनेछ । यसभित्र पुरुषका लागि पिसाब फेर्ने ३ वटा युरिनल र २ वटा शौचालय हुनेछन् । त्यस्तै महिलाका लागि ४ वटा र अपाङ्गता भएका व्यक्तिका लागि एउटा शौचालय हुनेछ । महिला शौचालयमा स्यानिटरी प्याड फाल्न मिल्ने तथा फ्यालिएका प्याडलाई बाष्पिकरण गरेर जोखिममुक्त बनाउने प्रबिधि जडान हुनेछ । त्यस्तै बच्चालाई प्याड फेराउने र स्तनपान गराउने ठाउँको पनि प्रबन्ध हुनेछ । प्रति घण्टा १ सय व्यक्तिले प्रयोग गर्ने आँकलन गरी यस प्रकारको शौचालयको ढाँचा अघि सारिएको हो ।
यो प्रस्तावसँगै बैकल्पिक ढाँचामाथि छलफल गरेर योजनालाई अन्तिम चरणमा पुर्याउने महानगरको योजना छ ।
फोटो सौजन्य : काठमाडौँ अनलाइन