सिन्धुपाल्चोकको दुर्घटना सडकको कारण होईन : महानिर्देशक केशब शर्मा

सिन्धुपाल्चोकको दुर्घटना सडकको कारण होईन : महानिर्देशक केशब शर्मा

कपन अनलाइन

काठमाडौँ,पुस ३। सडक विभागका महानिर्देशक केशब शर्माले सडक दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षबीच समन्वय हुनुपर्ने र सबैको सामूहिक प्रयासमा जोड दिएका छन् । पछिल्लो समय ठूलो मानवीय क्षतिसहितका सडक दुर्घटना बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा ओलीबाट पनि चासो भएको सुनाउँदै आफूहरु सबै सम्बन्धित निकायबाट सुझाव दिएको सुनाए ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महानिर्देशक शर्माले सडक दुर्घटनाका कारण धेरै रहेको सुनाए । उनले दुर्घटना घटाउनको लागि सबै सरोकारवाला निकायले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने,‘विश्वभरिनै वर्षेनि मृत्यु हुनेको संख्यामा सडक दुर्घटना तेस्रो नम्बरमा छ । सडक दुर्घटनामा ज्यान गुमाउँदा यसको मानवीय क्षति मात्रै हुँदैन्, यसले सामाजिक–आर्थिक असर पनि पुर्याईरहेको हुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सडक दुर्घटना मानवीय कारण, सडक पूर्वाधारका कारण, मौसमका कारण लगायत धेरै कारणले हुने गरेको दृष्टान्त पेश गरे । उनले भने,‘मानवीय कारणमा चालक, यात्रु र स्थानीय वा पैदल यात्रु पहिलो कारण हो । पूर्वाधारको कारणमा त्यो सडक सुरक्षित छ कि छैन् ? सडक सुहाउँदो सवारी साधन हो कि होईन त्यो पनि हेर्नुपर्छ । अर्को कुरा, मौसम पनि हो ।’
आफूहरुको जिम्मा सडक भएकोले यसको लागि प्रभावकारी काम गरिरहेको उनको भनाई छ । उनले भने,‘क्रस कटिङपनि बनाउनेतर्फ लागिरहेका छौं, यसले दुर्घटना कम गर्न सहयोग गर्छ । सडक दुर्घटना न्यूनीकरणको लागि मिडियाले पनि सशक्त भूमिका खेलिरहेको छ ।’
उनले नयाँ सडक बनाउने बेलामा आफूहरु ‘रोड सेफ्टी डिजाईन’को अडिट गर्ने गरेको पनि सुनाए । उनले भने,‘घुम्ती नपुगेको ठाउँमा घुम्ती राख्न निर्देशन दिन्छौं, मोडमा त्यहीअनुसारको राख्नको लागि पनि भन्छौं, अनि सडक बनाउन सुरु गरिन्छ ।’
तर, ग्रामिण सडकहरु बिना ईन्जिनियरिङ बनाउने गरिएको पनि उनले सुनाए । उनले भने,‘अहिले देशभरि ८३ हजार किलोमिटर सडक छ, त्यसमा १५ हजार सडक हामीले हेर्ने हो ।’ उनले जुम्ला, जाजरकोट, सल्यान, रुकुमका सडकहरुमा सुरु सुरुमा धेरै दुर्घटना भएको र ती मार्गहरुलाई मृत्युमार्गको रुपमा चिनिने गरिएको पनि स्मरण गराए । तर, अहिले विभागले भएका सबै सडकहरुलाई फराकिलो बनाएको र अहिले मानवीय क्षतिसहितको दुर्घटना नभएको उनको स्पष्टोक्ति थियो ।
उनले ७० किलोमिटर खराब सडकको पहिचान गरी ‘क्रस–ब्यारिङ’ राखिएको पनि सुनाए । मुग्लिन–नारायणघाट सडक खण्डअन्तर्गत त्रिशुलीमा सवारी खस्ने र ठूलो मानवीय क्षति हुने गरेकोले सरकारले उक्त खण्डमा नयाँ सडक बनाएपछि अहिले दुर्घटना नभएको पनि उनले जिकिर गरे । उनले भने,‘दुर्घटना धेरै हुने सडकहरुको पहिचान गरी हामीले स्तरोन्नती गरेका छौं । अब सडक सुरक्षा सबैले अपनाउनुपर्छ ।’
त्यतिमात्रै नभएर पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–नौबिसे सडक खण्डको ब्ल्याक–स्पटमा पनि आफूहरुले ईन्टरभेन्सन गरेको र अहिले राजमार्गमा दुर्घटना कम भएको उनको दाबी छ । सिन्धुपाल्चोकमा हालै भएको ठूलो मानवीय क्षतिसहितको यात्रुवाहक बस दुर्घटना सडकको कारण नभएको भन्ने प्रारम्भिक कुरा आएको पनि उनले स्पष्ट पारे । उनले भने,‘त्यो दुर्घटना राम्रो स्टेरिङ नकाटिएको प्रमुख कारण मानिएको छ, यद्धपी के कारणले दुर्घटना भएको भन्ने कुरामा बास्तविकता आउन बाँकी नै छ । अहिले अनुशन्धान भैरहेको छ ।’
सडक दुर्घटना रोकथामको लागि सबैले आफ्नो कमजोरीलाई आत्मासात गर्नुपर्ने र व्यापक जनचेतना फैलाउनुपर्नेमा जोड दिए । देशभरि १६ प्रतिशतमात्रै समथर भूभाग रहेको र बाँकी भूभाग उच्च पहाडी र हिमाली भू–भाग रहेको पनि उले सुनाए ।

तपाइँको प्रतिक्रिया ।