जनताको गुनासो सुन्दै काठमाडौं -४ का जनप्रतिनिधि

जनताको गुनासो सुन्दै काठमाडौं -४ का जनप्रतिनिधि
कपन अनलाइन
काठमाडौं, पुस १ काठमाडौँ महानगरपालिका वडा नं. ४ ले आयोजना गर्दै आईरहेको अभियान जनतासंग जनप्रतिनिधि आज छैठो कार्यक्रमको रुपमा सम्पन्न भएको छ ।
काठमाडौँको धुम्बाराहीमा भएको उक्त कार्यक्रममा जनप्रतिनिधिवीच स्थानीय जनताहरुले समाजका विभिन्न समस्याहरु राखेका छन् । सामाजिक समस्या, विकास निर्माण तथा रोजगारका पक्षमा समेत जनप्रतिनिधिवीच प्रश्न राखेका थिए । उनीहरुले टोलमा भएको विकृति विसंगतीलाई न्यूनिकरण गर्दै सभ्य समाज निर्माणमा सहयोग पुर्याउन जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । बसोबास क्षेत्रमा पार्टी प्यालेसबाट निस्केको ध्वनी, फोहोर संकलन केन्द्र लगायत समस्या राखेका थिए । स्थानीयहरुको समस्यालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य एवम् प्रदेश सांसद नारायण सिलवालले जनताको समस्यामा तत्काल समाधान गर्न सम्बन्धित पक्षसंग पहल गर्ने बताएका छन् ।
काठमाडौँ महानगरपालिका वडा ४ ले नेतृत्व गरेर आफ्नो जनता र जनप्रतिनिधवीच समस्याको समाधानका विषयमा छलफल गरी अगाडी बढेकोमा खुसी व्यक्त गरेका थिए । उनले गुणस्तरको कुरालाई मध्यनजर राख्दै विकास निर्माणको कार्य तिब्र गतिमा अगाडी बढाउन आफू क्रियाशिलका साथ हरेक समस्या समाधानका लागि जनतावीच आउने बताएका थिए । बसोबास क्षेत्रमा उद्योग कलकारखाना र पार्टी प्यालेस जस्ता संरचना निर्माण गर्दा विशेष ध्यान पुर्याउन पर्ने उनको तर्क रहेको छ ।वेथितिको पूर्वधार तथा संरचनालाई अन्त्य गरी समाजलाई शान्तिपूर्ण बनाउनु पर्नेमा जोड दिएका थिए ।
सांसद सिलवालले अव्यवस्थित विजुली, नेट इन्टरनेटका तारहरु तत्काल व्यवस्थित गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए । त्यस्तै प्रदेश सांसद सीता अधिकारी दाहालले वडाको अभियानलाई सकारात्मक सन्देश प्रवाह गर्ने खालको भएको भन्दै प्रशंसा गरिन् । विकास निर्माणले सार्थकता पाईसकेको र त्यसको अनुमोदनका लागि जनतासामु आएको बताइन् । 
काठमाडौँ महानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहन विष्टले आफ्नो वडालाई पार्क हबको रुपमा रुपान्तरण गर्ने बताएका थिए । वडाभित्र ७ ओटा पार्क निर्माण भईसकेका, टुवालदेवी पार्क निर्माणाधीन र अर्को ३ ओटा पार्क बन्ने योजना सुनाएका थिए ।
तपाइँको प्रतिक्रिया ।