नेपाल पुलिस क्लब चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

 नेपाल पुलिस क्लब चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

कपन अनलाइन 

काठमाडौँ, मंगसिर ८ । साविक विजेता भ्याली च्यासल युथ क्लबको चुनौती पन्छाउदै विभागीय नेपाल पुलिस क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ।।।ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले डिफेन्डिब च्याम्पियन च्यासमाथि १–० को जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । पुलिसको जितमा सुमन लामाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा पुलिसले खेलको १७औं मिनेटमा अग्रता लिएको थियो । हुलमुलमा बक्सभित्रबाट सुमन लामाले गरेको प्रहार गोलरक्षक तथा कप्तान एलेन न्यौपानेले जज गरेपनि बचाउन सकेन । त्यसअघि खेलको १३औं मिनेटमा पुलिसका कप्तान जुमानु राईले गोल गर्ने सुन्दर मौका खेर फालेको थियो । रवि पासवानको पासमा पेनाल्टी बक्सभित्र जुमानुले बल भेट्न सकेन । २९औं मिनेटमा च्यासलका सुशान्त लामाको प्रहारलाई डिफेन्डरले ब्लक गरिदिए ।

३३औं मिनेटमा सुमन लामाको प्रहारलाई गोलरक्षक एलनले सहजै बचाए । पहिलो हाफमा १–० ले पछि परेको च्यासलले दोस्रो हाफमा सुधारिएको खेल पस्केपनि अग्रपब्ति लगातार चुकिरह्यो । ५७औं मिनेटमा पुलिसका कप्तान जुमान राईले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । बक्सभित्रको प्रहार दोस्रो बारबाट थोरै बाहिरिएको थियो । ६४औं मिनेटमा च्यासलले बराबरी गर्ने मौकामा पुलिसका गोलरक्षक शत्रुघन चौधरी बाधक बन्यो झन्डै ४० यार्डमा प्राप्त फ्रिकिकमा सुशान्तको प्रहार गोलरक्षकले मुस्किलले डाइभिब पञ्च दिदै बचाएका थिए । ७९औं मिनेटमा सुनल खड्काको प्रहार पनि गोलरक्षकले विफल पारिदिए ।

च्यासलले अन्तिम १० मिनेट पुलिसलाई दवावमा राखेपनि गोल गर्न नसक्दा च्यासल पहिलो खेलबाटै घर फर्कन बाध्य बन्यो । गोलकर्ता पुलिसका सुमन लामा खेलको म्यान अफ दि म्याच घोषित भए । उनलई म्यान अफ दि म्याचको अवार्ड र ५ हजार रुपैया चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले प्रदान गरे अब पुलिसले सेमिफाइनलमा बिग्रग ब्वाइज क्लब (बीबीसी) सँग १० मंसिरमा प्रतिस्पर्धा गर्नेछ । बीबीसीले विभागीय त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा आइतबार अन्तिम क्वाटरफाइनलमा नेपाल एपीएफ क्लब र सरस्वती युथ क्लबबीच दिउँसो २ः३० बजेपछि प्रतिस्पर्धा हुनेछ । तेस्रो संस्करणको प्रतियोगितामा ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

फोटो : रोशन दानी

तपाइँको प्रतिक्रिया ।