दिपेश र बिष्णुको विजयी सुरुवात
कपनअनलाइन
काठमाडौं,कार्तिक २८। नेपाल ब्याडमिन्टन संघको आयोजनमा पहिलो पटक संचालन भएको योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जमा दिपेश धामी र बिष्णु कटुवालले बुधार विजयी सुरुवात गरेका छन् । दिपेशले भारतका दीपक शर्मा माथि २१ – १०, २१ – १६ को जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । यस्तै बिष्णुले भुटानका निदुप दोर्जीलाई पराजि गर्दै दोश्रो चरणमा स्थान बनाए । बिष्णुले दोर्जीमाथि २१ – ९, २१ – ४ को सहज जित निकालेका थिए ।
तर अपेक्षा विपरित नेपाल नं. एक खेलाडी रत्नजित तामाङ्ग भने पराजित हुन पुगे । तामाङ्ग थाईल्याण्डका अदुईराच नामकुल संग २१ – ९, २१ – ४ अंकका साथ पराजि भएका हुन् । अर्का नेपाली खेलाडी नविन श्रेष्ठले भने प्रतिद्वन्दिबाट वाकओभर प्राप्त गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् । नविनले भारतका अभिषेक यालगारबाट वाकओभर पाएका थिए ।
यस्तै अर्का खेलाडी बिकास श्रेष्ठ र प्रफुल महर्जनले पनि आफुलाई खरो उतार्न सकेनन् । बिकास ईङ्गल्याण्डका खेलाडी वाङ्ग युह्वाङ्गसंग २१ – १३ र २१ – १४ ले तथा प्रफुल भारतका सिद्धार्थ ठाकुरसंग २१ – १४, २१ – १० ले पराजित भए । यसैगरि अर्का खेलाडी साजन कृष्ण ताम्राकारले वाकओभर दिए । उनको प्रतिस्पर्धा भारतका किरण कुमार मेलका संग हुने तय थियो ।
नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले पनि नेपालीहरुको विश्वास कायम राख्न असफल भए । दुवई अन्तराष्ट्रिय सेरिज र हालै मालदिभ्समा सम्पन्न जुनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्न सफल दाहाल च्यालेञ्जमा दोश्रो बरियता प्राप्त रसियाका सर्जी सिरान्त संग २१ – १७, २१ – १२ को पराजित भए । यस्तै अन्य खेलाडी सुनिल जोशी र जीवन आचार्यले पनि नेपाली दर्शकलाई निरासनै प्रदान गरे । सुनिल अष्ट्रेलियाका खेलाडी केथ मार्क ईडिसन संग २२ – २०, २१ – ११ ले तथा जीवन भारतका सिलि बर्मासंग २१ – १२, २१ – १३ ले पराजित भए ।
महिला तर्फ पनि नेपाली खेलाडीहरुको प्रदर्शन निराशाजनकनै र¥यो । नजिकै आईरहेको १३ औं दक्षिण एशियाली खेलकुदका लागि तयारीमा रहेको खेलाडीहरुले बिदेशी खेलाडीका सामु टिक्न सकेनन् । महिला युगल तर्फ अमिता गिरी र अनुमाया राईको जोडी भारतका कुहु गर्ग र अनुष्का पारिख संग २१ – १७, २१ – ८ ले, पुजा श्रेष्ठ र जेशिका गुरुङ्ग बंगलादेशका अक्तर सप्ला र अलिना सुल्तानसंग २१ – ९, २१ – १४ ले, निता लम्साल र सिमा राजबंशीको जोडी भारतका मनिषा र रुतापर्ना पन्डा संग २१ – १४, २१ – १४ को समान अन्तरले तथा रशिला महर्जन र सिता राईको जोडी भारतकै अपर्ना बलान र त्रिशा जोलीसंग २१ – १०, २१ – १० को समान अन्तरले पराजित भए ।
२५ हजार डलर पुरस्कार राशी रहेको च्यालेञ्जमा पुरुष तथा महिला एकल र युगल तथा मिश्रीत युगल गरि कुल ५ विधामा नेपाल लगायय २१ राष्ट्रका १४९ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।