शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकता दिन क्यानेडियन डेपुटी एम्बेसडर डियरड्रि क्यान्टको आग्रह
कपनअनलाइन
काठमाडौं,कार्तिक२५ ।सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन डेपुटी एम्बेसडर डियरड्रि क्यान्टले आग्रह गरेकी छिन् ।
सोमबार रत्नपार्कमा रहेको सार्वजनिक शौचालयको अवलोकन गर्दै उनले शौचालय सबैका लागि चाहिने त्यसमा पनि स्वास्थ्य संवेदनशीलता र सुरक्षाका कोणबाट महिलालाई प्राथमिकतामा राख्नुपर्ने बताएकी हुन्। उनले अवलोकन गरेको शौचालय काठमाडौं महानगरपालिका, खानेपानी र सरसफाइका लागि गुठी, एरोसान र ग्राण्ड च्यालेन्जेज क्यानडा सहकार्यमा निर्माण भएको हो ।
२०७४ मंसिर ४ गते बिश्व शौचालय दिवस २०१७ को अवसरमा पारेर महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले शौचालयबाट उत्पादन भएको दिशाजन्य फोहोरबाट ग्याँस उत्पादन बिधि पूर्वाधारका लागि शिलान्यास गरेका थिए । त्यसको करीब ३ महिनापछि ग्याँस उत्पादन शुरु भएको थियो । त्यसपछि अहिलेसम्म शौचालयमा भेला भएको मानव मलमुत्रबाट मासिक २ सिलिण्डर ग्याँस उत्पादन भइरहेको छ ।
शौचालयको अवलोकन पछि डेपुटी एम्बास्डरसहितको टोलीले शंखधर पार्कतर्फको शौचालय र ग्याँस उत्पादन भएको शौचालयको पछाडिपट्टि फोहोर संकलन हुने ठाउँको पनि अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा रहनु भएका महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले पहुँचयुक्त सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने कामलाई महानगरले प्राथमिक योजनामा राखेको बताए । नेपाल खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको छ । उनले भने अब हामी पूर्ण सरसफाइतिर लाग्दैछौं । यसका लागि शौचालयको पूर्वाधार निर्माण गर्ने तथा यसलाई प्रबिधियुक्त बनाएर सञ्चालन गर्न कार्यक्रम बनाएका छौं । सार्वजनिक शौचालय सञ्चालनका लागि दिल्लीमा भएको दूताबासले चासो राखेर उच्च अधिकारी अवलोकनका लागि आउनु महत्वपूर्ण कुरा हो ।
शौचालय निर्माणका साझेदार एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले भने यस सफल अभ्यासबाट नेपाल र क्यानडाबीचको दौत्य सम्बन्धमा राम्रो प्रभाव पार्छ । यो परियोजनाबाट क्यानडा सरकारले राष्ट्रिय स्तरमा सहयोग बढाउन सक्छ ।
गुठीका अनुसार पहिले दैनिक औसत १०० सम्म महिलाले सेवा लिने गरेकोमा शौचालयमा चुकुल, प्रकाश र पानीको अवस्थामा सुधार गरेपछि सेवाग्राहीको संख्या अहिले औसत ६०० पुगेको छ । त्यहाँ दैनिक करीब २ हजार व्यक्तिले सेवा लिइरहेका छन् ।
शौचालय सुधारका लागि ५ लाख रुपैयाँ लगानी गरिएको थियो । त्यसबाट निर्माण भएको २५ घनमिटरको ट्यांकीमा शौचालयबाट फोहोर जम्मा गरिन्छ । यही लेदो फोहोरबाट ग्याँस उत्पादन हुने गरेको छ । यो एनोरोविक डाइजेस्टर विधि हो ।
फोटो सौजन्य: काठमाडौं अनलाइन