विश्व बसोबास दिवस र विश्व सहरी दिवस : एकै दिन मनाइयो
कपनअनलाइन
काठमाडौं,कार्तिक १५ । यस बर्ष बिश्व बसोबास र सहरी योजना गरी दुईवटा दिवस एकै दिन मनाइएको छ । हरेक बर्षको अक्टोवर २ तारिख मनाउनु पर्ने बसोबास दिवस र अक्टोबर ३१ तारिक मनाइने पर्ने विश्व सहरी दिवसलाई संयोजन गरेर एकै दिन मनाइएको हो ।
दिवसका अवसर पारेर राजधानीमा अग्रणि प्रबिधिबाट फोहोरबाट मोहोर बिषयक कार्यशाला आयोजना गरिएको थियो । कार्यशाला उद्घाटन गर्दै सहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईले फोहोर उत्पादनसँग व्यवस्थापन प्रणाली नजोडिएकाले जति प्रयत्न गरे पनि समस्या जहाँको त्यहीँ रहेको धारणा राखेका थिए । बिकसित मुलुकमा फोहोर सामान बस्तु उत्पादन गर्दा त्यसको प्रयोगपछि बाँकी रहने बस्तुको व्यवस्थापन प्रणालीका बिषयमा कार्यक्रम बनाइएको हुन्छ तर नेपालमा त्यस्तो छैन । सामान उत्पादन गर्ने उत्पादनलाई प्रयोगमा नआएको बस्तु फालिँदा पनि ख्याल छैन । फोहोरको दिगो समाधान नहुनुको एउटा कारण यो रहेको उनले बताए ।
उचित प्रबिधि छनौट गरेर कार्यान्वयनमा ल्याउन नसक्नु अर्को कारण रहेको उनले बताए । काठमाडौंको फोहोर व्यवस्थापनको प्रसङ्ग उठाउँदै उनले भने क्षेत्राधिकार बाझिएकाले मन्त्रालयलाई पनि काम गर्न गाह्रो भएको । बञ्चरे डाँडाको पूर्वाधार बनाएर ल्याण्डफिल्ड साइट बनाउने काम गरिरहेका छौं तर अहिलेसम्म यसलाई प्रबिधिमैत्री बनाउने बिषयमा सोच नभएको उनले बताए ।
सोही कार्यक्रम बोल्दै मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भने हामीले पैसा तिरेर फोहोर किनिरहेका छौं । पैसा तिरेकोमध्ये कति फोहोर हो, किन्नेबेलामा नै सोचेर व्यवहार गर्ने हो भने व्यवस्थापनको गतिलो काम त्यहीँबाट शुरु हुन्छ । व्यत्तिःको आचरणमा परिवर्तन आएसँगै श्रोतमै घट्ने वा प्रयोग गरेपछि वातावरणमै मिसिएर सकिने फोहोरको मात्रा घट्दै गएको छ । त्यसैले चिन्ता बढेको हो ।
कार्यक्रममा सहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक मणिराम गेलालले वातावरणमैत्री ल्याण्डफिल्ड साइट बनाउँछौं भन्दा समुदायले बिश्वाश नगरेकोले काम अघि बढाउन कठिन भएको बताए। काठमाडौंको फोहोर व्यवस्थापन बञ्चरेडाँडाको पूर्वाधार आउँदो मंसिर १ गतेसम्ममा सक्ने योजना थियो । त्यो करीब २० दिन लम्बिने छाँट छ । उनले भने काठमाडौं बाहिर साइट बनाउन खोजेको जनताले विश्वास नै गरेनन् । ठाउँमा बिवाद भएपछि काम अघि बढ्नै नसकेको उनले बताए ।
नेपालको परम्परागत फोहोर व्यवस्थापनका लागि प्रबिधि भएर मात्र पनि हुँदैन । यहाँको आवश्यकता अनुसारको प्रबिधि चाहिन्छ । त्यसलाई परिचालन गर्न उपयुक्त नीतिगत प्रबन्ध हुनुपर्छ, कार्यशालाका मुख्य बक्ता मनोहर भट्टराईले प्रबिधि प्रयोग गरेर तथ्याङ्क संकलन गरेपछि कार्यक्रम तर्जुमा गर्ने आधार बन्ने बताए । त्यस्तै खाली सिसी डटकमकी संस्थापक आयुषी के. सी. ले प्रभावकारी साना कार्यक्रमको ठूलो प्रभाव पर्ने बताए।
विश्व बसोबास दिवस सन् १९८५ मा संयुक्त राष्ट्र संघको महासभावाट स्वीकृत भएपछि मनाउन थालिएको दिवस हो भने विश्व सहरी दिवस यसै महिनाको ३१ तारिखका दिन मनाइन्छ । यस बर्ष बसोबास दिवसको नारा (फ्रन्टियर टेक्नोलोजिज एज एज एन इनोभेटिभ टुल टु ट्रान्सफर्म बेस्ट टु वेल्थ) अग्रणि प्रबिधिबाट फोहोरबाट मोहोर रहेको छ भने सहरी दिवसको नारा इनोभेसन्स एण्ड बेटर लाइफ फर फ्युचर जेनेरेसन रहेको छ ।
आउँदो दिवस अर्थात् सहरी योजना दिवस सन् १९४९ मा प्राध्यापक कार्लोस मरिया डेला पाउलेराले अगाडि बढाउनु भएको अवधारणामा आधारित दिवस हो । यी सबै ३ वटै दिवसको लक्ष्य सुरक्षित, व्यवस्थित र योजनावद्ध बिकासको आवश्यकतालाई समुदायमा वोध गराउनु रहेको छ ।
फोटो सौजन्य: काठमाडौं अनलाइन