धोवीखोला कोरिडोरको अवरोध हट्यो
कपन अनलाइन
काठमाडौं ,कार्तिक १४ ।
धोवीखोला कोरिडोरमा वर्षौ देखि रहेको अवरोध हटेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको पाथिभरा टोलका २२ घरको व्यवस्थापन भए संगै कोरिडोर निर्माणको कामले तीव्रता पाएको छ।
लामो समय देखि रोकिएको सो स्थानको बाटो आहिले खुलाइएको छ भने निर्माण कार्य पनि अगाडी बढेको छ । काठमाडौं जिल्लामा रहेको ट्राफिक समस्याको सामाधान गर्नका लागि २०५९ शालमा निर्माण शुरु भएको यस कोरिडोर विभिन्न चरण गरेर निर्माण हुदै आएको छ ।
त्यस्तै २०६४ पुष २ देखि तत्कालीन काठमाडौं नगर विकास समितिले गठन गरेको धोबिखोला कोरिडोर सुधार आयोजना व्यवस्थापन उपसमितिमार्फत् कोरिडोर निर्माणको काम हुदै आएको छ।
आयोजनाको पहिलो चरण वैजनी पुल (चाबहिल रिङरोड) देखि खैरोपुल (वाग्मती दोभान) सम्म खोलाको दुबैतर्फ ११ किलोमिटर लम्बाइको ९ मिटर चौडा सडक ट्रयाक खोल्ने काम सम्पन्न भएको थियो ।
त्यस्तै दोस्रो चरणको वैजनी पुलदेखि कपन भंगाल पुलसम्म खोलाको दुबैतर्फ चार—चार गरी जम्मा ८ किलोमिटर लम्बाइको ९ मिटर चौडा सडक ट्रयाक खोल्ने काम भएको थियो ।
त्यस्तै तेश्रो चरणमा चुनिखेल नौलिन – भंगाल पुल–चाबहिलको बैजनी पुल–खैरो पुल (बाग्मती दोभान)सम्म खोलाको दुबैतिर गरी १९ किलोमिटर कोरिडोरको सडक निर्माण भैरहेको छ ।
बुढानिलकण्ठ नगरपालिकाको महत्वपूर्ण पूर्वाधारको रुपमा रहेको यस कोरिडोर निर्माण संगै यातायात व्यवस्थामा निकै सुधार हुने देखिन्छ भने यस क्षेत्रमा निर्माणाधीन रहेका नाजुक सडकको समस्या बाट स्थानीयहरुलाई केहि राहत पुग्ने पनि देखिन्छ ।