काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र तेल अभिभ सहरका मेयर रोन हुल्दाइ विच शिष्टाचार भेट
कपन अनलाइन
काठमाडौ,फागुन १।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार इजरायलको तेल अभिभ सहरका मेयर रोन हुल्दाइसँग शिष्टाचार भेट गरेका छन ।
३२ औं मेयर सम्मेलनमा भाग लिन इजरायल पुगेका मेयर शाक्यले अभिभको पहिलो सिटी हलमा मेयर हुल्दाइसँग भेट गरेका हुन् । शिष्टाचार भेटका क्रममा महानगरका प्रमुख शाक्यले द्विपक्षीय सम्बन्ध विकासमा जोड दिँदै अभिभ सहरले प्रविधिका क्षेत्रमा गरेको प्रगतिको प्रशंशा गरेका थिए । तेल अभिभ सहरले हरियाली विकास र सरसफाइका क्षेत्रमा प्राप्त गरेको उपलब्धी आफूले काठमाडौंको सुन्दरताकालागि शुरुवात् गरेको “क्लिन एण्ड ग्रीन सिटी” अभियानकालागि उपयोगी हुने धारणा राखेका थिए ।
भेटका क्रममा तेल अभिभ सहरका मेयर हुल्दाइले सहरको विकास र व्यवस्थापनलाई विस्तारै महसुस गर्न गराउन सकिने बताउँदै आधुनिक सहर निर्माण विस्तारै हुने भएकोले, सोही गतिमा अघि बढ्न आग्रह गर्नुभयो । यसकालागि आफू सहकार्य गर्न तयार रहेको मेयर हुल्दाइको भनाइ थियो । भेटका क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा पनि सहभागी थिए ।
सम्मेलनमा भाग लिने प्रतिनिधि तथा निजी क्षेत्रका व्यवस्थापकहरुले कार्यक्रममा बोल्दै आउँदा दिनमा युवा पुस्तालाई विकासका काममा समाहित गर्न नव प्रवर्तनमा जोड दिँदै प्रविधिको माध्यमबाट सहर रुपान्तरण गर्न सकिने धारणा राखेका थिए ।
सम्मेलनका दोश्रो दिन अर्थात् सोमबार सहभागीहरुले इजरायलको ऐतिहासिक संग्रहालय र पहिलो रेल वे स्टेशनको भ्रमण गर्नुका साथै जेरुसेमको पर्यटन विभागका अधिकारीहरुसँग अन्तरक्रिया गरेका थिए । सोही दिन सहभागीहरुको स्वागतमा इजरायली विदेश मन्त्रालयले दिवा र तेल अभिभका मेयरले रात्री भोजको आयोजना गरिएको थियो ।
विश्वका ३२ वटा सहरका नगर प्रमुख, अन्य सहरका प्रतिनिधि र निजी क्षेत्रका उच्च व्यवस्थापकहरुको सहभागिता रहेको सम्मेलन फागुन ३ गते समापन हुनेछ ।
समाचार सौजन्य :काठमाडौं अनलाइन (चन्द्रमणि भट्टराई )