अनमोल र अदितीको ‘कृ’ देशैभर प्रदर्शनमा
कपन अनलाइन
काठमाडौं, २६ माघ ।आज शुक्रबारबाट फ्राइडे रिलिजको परम्परा धान्दै युवा स्टार अनमोल केसी अभिनीत यस वर्षको सर्वाधिक बहुप्रतिक्षीत फिल्म ‘कृ’ देशैभर प्रदर्शनमा आएको छ । यो फिल्मसँग जुध्न कुनै पनि नेपाली फिल्म हलमा छैनन् ।
तर, मल्टिप्लेक्समा भने बलिउडस्टार अक्षय कुमार अभिनीत फिल्म ‘प्याडम्यान’ रिलिज भएको छ । ‘प्याडम्यान’ ले गर्दा ‘कृ’ ले मल्टिप्लेक्समा अपेक्षा अनुसार शो पाएको छैन । तर, सयको आसपासमा सिंगल हल पाएको छ । यसअघि रिलिज भएका अनमोलका फिल्मले सिंगलभन्दा मल्टिप्लेक्समा राम्रो दर्शक भित्राएका थिए ।
यसपटक अनमोल स्वयंम ‘यति यति पानी’ बोलको गीतले पनि सिंगल थिएटरमा दर्शकको चाप हुनेमा विश्वस्त छन् । लगातार चार फिल्ममा रोमान्टिक हिरोको रुपमा देखिएका अनमोल यसपटक विशेषतः एक्सन अवतारमा प्रस्तुत भएका छन् ।
फिल्मको शुक्रवार ८० प्रतिशतमाथि अकुपेन्सी रहने निर्माण पक्ष र वितरकको अनुमान छ । मंगलवार साँझ बाटै मल्टिप्लेक्समा फिल्मको बुकिङ खुल्ला गरिएको थियो । अनमोलको क्रेज र फिल्मको हाइपका कारण ‘कृ’ को इनिसियल व्यापार आक्रामक हुने धेरैको अनुमान छ ।
फिल्मलाई चलचित्रकर्मीहरुले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना दिइरहेका छन् ।
हास्यकलाकार दीपकराज गिरीले अनमोललाई ‘रियल सुपरस्टार’ भन्दै फिल्मको सफलताको शुभकामना दिए । यो फिल्ममा अनमोलले नव-नायिका अदिती बुढाथोकीसँग स्क्रिन शेयर गरेका छन् । सुरेन्द्र पौडेल फिल्मका निर्देशक हुन् । बदलाको कथा बोल्ने ‘कृ’ मा सुवास गिरी र
भूवन केसीको लगानी छ ।
युट्युबमा अपलोड गरिएको लगभग डेढ महिनामा फिल्मको ट्रेलरको भ्युअर्स २२ लाखभन्दा माथि पुग्नुले पनि युवा दर्शकहरू यो फिल्म हेर्न लालयित रहेको बुझ्न सकिन्छ । यस्तै, ‘यति यति पानी’ गीतलाई १ महिनामा ६४ लाख र ‘मैले जानी नजानी’ गीतलाई ३ दिनमा ११ लाख बढी भ्युअर्स प्राप्त छ ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।
तपाइँको प्रतिक्रिया ।