कार्यदलको निर्णय एकता संयोजन समितिबाट अनुमोदन
कपन अनलाइन
भक्तपुर,माघ १८ ।
प्रदेशसभा सम्बन्धी शक्ति बाँडफाँड सम्बन्धी निर्णयलाई एमाले माअोवादी पार्टी एकता संयोजन समितिले अनुमोदन गरेको छ ।
दुई पार्टीले प्रदेशसभाका लागि ७०– ३० को आधारमा शक्ति बाँडफाँड गरेका थिए । जस अनुसार ४ वटा प्रदशेमा एमालेका मुख्यमन्त्री र सभामुख तथा दुई वटा प्रदेशमा माओवादीका मुख्यमन्त्री र सभामुख रहने गरी कार्यदलले निर्णय गरेको थियो ।
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको हो । बैठकमा दुई पार्टीबीच हुने एकताका सम्बन्धमा पनि छलफल गरेको थियो । पार्टी एकताका विषयमा दुई पार्टीका अध्यक्षबीच आन्तारिक छलफल जारी रहेकोले सो सम्बन्धमा कुनै निर्णय नभएको बताइएको छ । दुई पार्टीबीच केही समय अघिदेखि पार्टी एकताका विषयमा गृहकार्य जारी रहेको छ ।
त्यस्तै, बैठकले भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधार हुने अपेक्षा गरेको र मुलुक नयाँ कोर्समा प्रवेश गरिसकेको अवस्थामा भारतीय विदेशमन्त्रीको भ्रमणले नयाँ आधारमा सम्बन्ध विस्तार गर्ने बैठकको निश्कर्ष रहेको छ ।