फिल्म ‘शत्रु गते’ को दोस्रो गीत सार्वजनिक

फिल्म ‘शत्रु गते’ को दोस्रो गीत सार्वजनिक
कपन अनलाइन 
काठमाडौं, १७ माघ । चकलेटी ब्वाई पल शाह र आँचल शर्मा स्टारर फिल्म ‘शत्रु गते’ को दोस्रो गीत सार्वजनिक भएको छ । बुधवार युट्युब मार्फत ईन्टरनेट रिलिज गरिएको ‘पिरतीको बर्को’ गीतले प्रेमभाव बोल्छ । जहाँ पल र आँचल फिचरिङमा छन् ।
काली प्रसाद बाँस्कोटाको संगीत र स्वर रहेको गीतको शब्द अर्जुन भट्टराईले लेखेका हुन् । गीतका शब्दहरु निकै रमाइला छन् । संगीतकार तथा गायक कालीले यो गीतमा नयाँ टेस्ट दिने प्रयास गरेका छन् । पल र आँचलको केमेष्ट्री सुहाएको छ । भिडियोका कोरियोग्राफर प्रविन सिंह हुन् ।
फिल्ममा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, शिवहरी पौडेल, मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतका कलाकारको पनि प्रमुख भूमिका छ ।
तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । ‘शत्रु गते’ लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।
चैत ९ गतेबाट प्रदर्शनमा आउने यो फिल्मलाई लिएर अहिले सिंगो फिल्म क्षेत्र र दर्शकमा उत्साह देखिएको छ । मल्टिस्टार कलाकार भएका कारण पनि यो फिल्म हिट हुने अड्कल काटिएको छ ।

तपाइँको प्रतिक्रिया ।