तिलोत्तमा नगरमा व्यवस्थित सडक बन्दै

तिलोत्तमा नगरमा व्यवस्थित सडक बन्दै

कपन अनलाइन 

बुटवल, १३ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सडक मर्मत तथा निर्माणका कामलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ । नगरमा सडक निर्माणका काममा रोडा योजना तीव्रताका साथ अघि बढाइएको छ । ग्राभेल योजना १ देखि १७ वडामै सञ्चालन हुने नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

नगरसभाले सडक रोडा योजनाका लागि चालु आवमा रु सात करोड ९० लाख विनियोजन गरेको छ । कतिपय वडामा रोडा बिछ्याउने काम सकिएको छ भने कतिपयमा सञ्चालन भइरहेको छ । वडा समितिले निर्धारण गरेको प्राथमिकताका आधारमा सडकमा रोडा राखिँदैछ । नगरपालिकाले योजनाको जिम्मेवारी वडा समितिलाई प्रदान गरेको छ । यस वर्ष झण्डै ४०० साना ठूला बाटामा रोड राखिने नगरपालिकाले जनाएको छ ।

प्रत्येक वडामा उपभोक्ता समिति गठन गरेर योजना अघि बढाइएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताए । नगरपालिका क्षेत्रमा पर्ने तिनाउ नदी तथा सुखौरा खोलाका रोडाबाट काम भएको छ । यसअघि कालोपत्र गरिएका तर अहिले जीर्ण भएका सडक पनि विस्तारै व्यवस्थित हुँदै जाने नगरपालिकाले जनाएको छ ।

जीर्ण भएका यस्ता सडकको मर्मतसम्भार गर्न ठूलो बजेट आवश्यक पर्ने भएकाले नगरपालिकाले यसमा सघाउन यस क्षेत्रबाट नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सदस्यलाई आग्रह गरिसकेको छ । नगर प्रमुख घिमिरेले तत्कालै ममर्तसम्भार नगरी नहुने जीर्ण सडकको मर्मत सम्भार गर्न रु १२ करोड जति बजेट आवश्यक देखिएको बताए।

तपाइँको प्रतिक्रिया ।