‘मिस्टर झोले’को ५ दिने कलेक्सन कति ?

‘मिस्टर झोले’को ५ दिने कलेक्सन कति ?
कपन अनलाइन 
काठमाडौं, ४ माघ । केही महिना यता नेपाली फिल्मको व्यापारमा मन्दी आईरहेको अवस्थामा शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’ले आशातित व्यापार गरेको छ । कठ्यांग्रीदो जाडोका बीच पनि फिल्म हेर्ने दर्शकको संख्या सुखद रहेको वितरक गोविन्द शाही बताउँछिन् । उनले फिल्मको ५ दिने कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् ।
प्रदर्शनको दुई दिनमा १ करोड १० लाख कलेक्सन गरेको फिल्मले बाँकी ३ दिनमा १ करोड १२ लाख कमाउन सफल भएको छ । फिल्मले प्रदर्शनको ५ दिनमा कूल २ करोड २२ लाखको विजनेश गरेको वितरक शाहीले जानकारी दिए । योसँगै अब फिल्मको मुनाफा यात्रा सुरु भएको छ ।
छैटौं दिनसम्म आईपुग्दा पनि दर्शक चापमा कमी नआएको निर्माता टेकेन खड्का बताउँछन् । उनले भने ‘देशका केही मुख्य स्टेशन बुधवार पनि हाउसफुल थिए । विहिबार सोनम ल्होसारको विदामा अझ दर्शक बढ्नेमा आशावादी छौं ।’
टिपिकल गाउँले स्वाद पस्किएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो । रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् ।  रिलिजपूर्व नै हिट बनेको ‘ओखती’ बोलको गीतले पनि फिल्मको व्यापारमा ठूलो सहयोग पुगेको छ ।
यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म ‘झोले’ टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो ।
तपाइँको प्रतिक्रिया ।