दाङमा राष्ट्रिय फूटबल प्रतियोगिता सुरू

दाङमा राष्ट्रिय फूटबल प्रतियोगिता सुरू

कपन अनलाइन

काठमाडौँ ,माघ २ । दाङमा मंगलबारदेखि २८औं पुरुष राष्ट्रिय च्याम्पियनसीप फूटबल प्रतियोगिता सुरू भएको छ। ३३ वर्षको अन्तरालमा आयोजना हुन लागेको राष्ट्रिय प्रतियोगितामा पूर्व दाङको तुलसीपुरमा प्रभात फेरीको आयोजना गरिएको छ। तुलसीपुरको त्रिशिद्धेश्वरी मन्दिर परिषरबाट प्रभातफेरी सुरू भएको हो।

प्रभात फेरीमा यसक्षेत्रमा विभिन्न सामाजिक संघ संस्था र सशस्त्र प्रहरीको सहभागिता थियो। प्रभातफेरी बजारको परिक्रमापछि फूटबल प्रतियोगिता हुने स्थल अरनिको मैदानमा पुगेको थियो।

२०४४ सालमा दाङमा महिला राष्ट्रिय फूटबल प्रतियोगिता भएपनि त्यसयता कुनैपनि राष्ट्रिय प्रतियोगिता हुन सकेको थिएन। पाँच विकास क्षेत्रबाट एक/एक टोली र तीन वटा विभागीय टोली गरि कूल आठ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। तुलसीपुरको अरनिको मैदानमा केही बेरमै उद्घाटन हुन गइरहेको प्रतियोगिताको समापन भने माघ ६ गते घोराहीस्थित भरतपुर खेल मैदानमा हुने दाङ जिल्ला फूटबल संघका अध्यक्ष सुशील श्रेष्ठले बताए।

तुलसीपुरमा ३ वटा र घोराहीमा ५ वटा खेलहरू आयोजना गरिएको पनि संघका अध्यक्ष श्रेष्ठले बताए । मंगलबारको पहिलो खेल मध्यपश्चिमाञ्चल विकास क्षेत्र र सशस्त्र प्रहरीका बीचमा तुलसीपुरको अरनिको मैदानमा हुँदैछ।

मध्यपश्चिमको टिममा दाङका ७ खेलाडी परेका छन्। घरेलु मैदानको सदुपयोग गर्दै नतिजा आफ्नो पोल्टामा पार्न आफूहरूले प्रयास गर्ने मध्यपश्चिमका प्रमुख स्ट्राईकर विनोद केसीले सेतोपाटीलाई बताए।

उनले उच्च मनोबलका साथ आफूहरू मैदानमा उत्रने बताए। त्यसैगरी सशस्त्र प्रहरी पनि नतिजा आफ्नो पक्षमा पार्ने पक्षमा रहेको छ। खेल नकआउट सिस्टमबाट खेलाइने भएको छ।

यसैबीच, प्रतियोगिताको उद्घाटन न्यायपरिषदका सदस्य पदम बैधिकले गर्ने तयारी भइरहेको छ। यसअघि तुलसीपुरका मेयर घनश्याम पाण्डेले प्रतियोगिताको उद्घाटन गर्ने जानकारी दिइएको भएपनि मौसमका कारण प्लेन आउन नसक्दा मेयरको सट्टा बैधिक उद्घाटनका लागि आउने भएका हुन्।

तपाइँको प्रतिक्रिया ।