एक व्यवसायी एक विद्यार्थी अभियान
कपन अनलाइन
चितवन, २१ पुस । उद्योग वाणिज्य संघ चितवनले शिक्षाको उज्यालोबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ ‘एक व्यवसायी एक विद्यार्थी अभियान’ शुरु गरेको छ । संघले गतवर्ष सम्पन्न भएको चितवन महोत्सवबाट बचत रकममध्ये रु दुई लाख ५० हजार अक्षयकोषमा राखेर अभियान शुरु गरेको हो ।
संघका अध्यक्ष राजन गौतमले देशभरका जिल्ला, नगर उद्योग वाणिज्य संघ सक्रिय भएर लागेमा कोही शिक्षाबाट वञ्चित हुन नपर्ने बताए । अक्षयकोषमा सदस्यता नवीकरण हुँदा एक सदस्यको रु ५० का दरले रकम जम्मा गरिने उनले बताए ।
उद्योग वाणिज्य संघ चितवनमा तीन हजार ३३४ जना सदस्य छन् । यसका अतिरिक्त संघका पदाधिकारी, सदस्य र कर्मचारीले पहिलो चरणमा कोषमा रकम सहयोग गर्ने बताएका छन् । बाह्य क्षेत्रबाट व्यवसायीलाई स्वेच्छिकरुपमा सहयोगका लागि आह्वान गरिएको अध्यक्ष गौतमले बताए । सदस्य संख्या जति नै बालबालिकालाई शिक्षामा सहयोग गर्न सकिने गरी अक्षयकोष बढाउँदै लगिने उनले बताए ।
आउँदा महोत्सव र अन्य आर्थिक गतिविधिमा पनि सो कोषमा रकम थप्दै लगिने गौतमले बताए । कोषको ब्याजबाट गरिब तथा विपन्न परिवारका बालबालिकालाई शिक्षा दिन सहयोग गरिने उनले बताए । नेपालभरमा १०५ वटा जिल्ला, नगर संघ रहेका छन् ।
संघको २०७२/७४ को कार्यसमितिको कार्यकाल यसै महिना सकिँदै छ । कार्यसमितिले चितवन महोत्सवलाई करमा दर्ता गरी रु १९ लाख ४४ हजार कर बुझाएको थियो । महोत्सवमा बचेको रकम यसअघिका वर्षमा संघले आफैँ राख्ने गरेकामा यस कार्यसमितिले विभिन्न सामाजिक, शैक्षिक, संघसंस्थालाई वितरण गरेको छ । संघ आन्तरिक राजश्व कार्यालय र उद्योग वाणिज्य महासंघबाट समेत पुरस्कृत भएको छ ।