मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अम्बाथान खण्डको सुरुङ शुक्रबार मध्यरातिबाट जोडियो
कपन अनलाइन
मेलम्ची (सिन्धुपाल्चोक), पौष १५ ।
मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अम्बाथान खण्डको सुरुङ शुक्रबार मध्यराति जोडिएको छ । आयोजनाको मुख्य कामको यो दोस्रो ‘ब्रेक थ्रु’ हो । शुक्रबार राति बाँकी रहेको करिब चार मिटर सुरुङ खन्ने काम सम्पन्न भए सँगै आयोजनाको दोस्रो खण्ड पूरा भएको हो । ग्याल्थुम अडिटदेखि अम्बाथान सम्मको आठ दशमलव दुई किलोमिटर छेडिए सँगै आयोजनाको १७ दशमलव ६ किलोमिटर सुरुङ निर्माण सम्पन्न हुने छ ।
‘शुक्रबार राति यस खण्डको सुरुङ ब्रेक थ्रु हुँदै छ’, आयोजनाको उप-कार्यकारी निर्देशक वासुदेव बास्कोटाले भने, ‘शनिबार औपचारिक रूपमा ब्रेक थ्रुको घोषणा हुनेछ ।’ यसअघि आयोजनाको सबैभन्दा लामो खण्ड सिन्धु अडिटदेखि सुन्दरीजलसम्मको नौ दशमलव चार किलोमिटर सुरुङ ‘ब्रेक थ्रु’ भइसकेको छ।
आयोजना निर्माणका लागि मुहानदेखि सुन्दरीजल सम्मको साढे २७ किलोमिटर सुरुङ खन्नुपर्नेछ । यो मध्ये सिन्धुदेखि ग्याल्थुम अडिटको खण्डमा करिब पाँच सय मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । दैनिक १० देखि १२ मिटर खन्ने काम भइरहेकाले यो खण्ड पनि पुस भित्रै सम्पन्न हुने बास्कोटाले बताए ।
खन्न बाँकी भागमा नरम माटोको भएकाले अलि बढी समय लागेको आयोजनाले जनाएको छ । आयोजनाको चार अडिटबाट ६ तिर सुरुङ खन्ने काम हुँदै आएकोमा अब दुई अडिटबाट मात्र सुरुङ खन्ने काम बाँकी छ । अम्बाथानबाट मुहानसम्मको भाग र सिन्धु ग्याल्थुम खण्ड सुरुङ खनेपछि लाइनिङ मात्र बाँकी रहने बास्कोटाले जानकारी दिए । लाइनिङको काम पनि सुरु भइसकेको छ । यही रफ्तारमा काम अघि बढ्यो भने दसैंसम्म मेलम्चीको पानी काठमाडौंका धारामा खस्ने उनको विश्वास छ । आयोजना सन २००१ बाट निर्माण सुरु भएको थियो ।
साभार अन्नपूर्ण पोष्ट