राज्यको स्पष्ट नीतिको अभावका कारणले शैक्षिक गुणस्तर वृद्धि हुन सकेन :भीमबहादुर वुढा
कपन अनलाइन
अछाम. पौस १४/एकेन्द्र महता
नेपाल शिक्षक महासंघ अछामका अध्यक्ष भीमबहादुर वुढाले राज्यको स्पष्ट नीतिको अभावका कारण शैक्षिक गुणस्तर वृद्धि हुन नसकेको बताउनुभएको छ । रेडियो जनप्रियसँग कुराकानी गर्दै महासंघका अध्यक्ष वुढाले शिक्षकहरुलाई राज्यले वर्गिकरण गरेर विभेद गरेको बताउनुभयो ।
एकै किसिमका शिक्षकहरुलाई १७ औ किसिमले वर्गिकरण गर्दा शिक्षकहरुको मनोवल घट्दै गएको उहाँले बताउनुभयो । शिक्षको गुणस्तरको लागि शिक्षक दरबन्दी मिलान, कामका आधारमा मूल्याङ्कन र सरुवा÷बढुवा र पर्याप्त शिक्षक दरबन्दीको व्यवस्था गर्न आवश्यक रहेको उहाँको भनाई रहेको छ ।
अनुगमन र मूल्याङ्कन प्रणालीमा सुधारका साथै सरकारले नीतिगत सुधार गर्न आवश्यक रहेको वुढाको भनाई रहेको छ । भौतिक पूर्वाधारको प्रत्यक्ष असर नदेखिए पनि सिकाइ सुधारमा यसको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । भौतिक पूर्वाधार पनि गुणस्तरीय शिक्षाको लागि आवश्यक आधार भएको वुढाको भनाई छ ।
शिक्षकहरुले पनि समयको पालना, पेशा प्रतिको जिम्मेवारी, लगनशीलता, जवाफदेहिता, सामाजिक जिम्मेवारी बोध हुन जरुरी रहेको उहाँले बताउनुभयो । अभिभावकहरुले पनि छोराछोरी विद्यालयमा पठाउने मात्रै होइन, विद्यालयको सिकाइ, व्यवस्थापन, सुधार लगायतका विषयमा चासो र सरोकार राख्नु पर्ने वुढाले बताउनुभयो । दलीय भागवण्डा वा शक्तिको आधारमा नभएर कार्यसम्पादनको आधारमा भिजन भएको क्षमतावानहरुलाई नेतृत्व दिनु पर्ने उहाँको भनाई छ ।