पशुपतिनाथ मन्दिर वरपर सवारी प्रवेश निषेध

पशुपतिनाथ मन्दिर वरपर सवारी प्रवेश निषेध

कपन अनलाइन 

काठमाडौ,पौष ११ ।

आजदेखि विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जाने यात्रुलाई सहजरुपमा दर्शन गर्ने वातावरण मिलाउन चार शिवालय वनकालीदेखि उत्तरतर्फको भागसम्म सवारीसाधन प्रवेश निषेध गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाका पदाधिकारीको गत असोज ३० गते बसेको संयुक्त बैठकले पशुपति क्षेत्रभित्र सवारीसाधन निषेध गर्ने निर्णयअनुसार उक्त क्षेत्रमा सवारीसाधन प्रवेशमा निषेध गरिएको हो ।

चार शिवालयदेखि उत्तर, जय वागेश्वरीबाट पूर्व र दक्षिणामूर्तिबाट दक्षिणको भागलाई सवारीसाधन प्रवेश निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको हो । जसमा दक्षिणामूर्तिबाट मित्रपार्कसम्म जाने सवारीसाधनलाई एकतर्फी गरिएको छ ।

कोषले वनकाली चौरमा पार्किङ गर्ने व्यवस्था मिलाएको छ । शव वाहन, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका अत्यावश्यक सवारीसाधनलाई भने रोक लगाइएको छैन  ।

 

मन्दिरमा लामो समयदेखि पूजा गर्दै आएका बेदप्रसाद दुलालले सवारीसाधनको प्रवेश रोकिएसँगै पूजालगायतका सामग्री भित्र लैजान अप्ठ्यारो पर्ने बताए । वनकाली चौरबाट पशुपतिनाथको मन्दिरको दूरी ४०० मिटर टाढा छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा प्रदीप ढकालले तीर्थयात्रीलाई आवागमन गर्न सहज होस् भन्ने उद्देश्यले कोषले महाशाखासँग छलफल गरेर सवारीसाधन प्रवेश निषेध क्षेत्र घोषणा गरेको जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।