फरार रेसम चौधरीको जित संगै गर्माएको बहस

कपन अनलाइन 

काठमाडौ,पौष २ /विचार /उत्तम अधिकारी

फरार रेसम चौधरीको जित संगै गर्माएको बहस :

११ जना प्रहरी र सर्वसाधारणको ज्यान जानेगरी घटाइएको सुनियोजित कैलाली हत्याकाण्ड कदापि भुल्न नसकिने मानवता बिरोधी जघन्य अपराधको घटना हो ।

उक्त हत्याकाण्डको प्रमुख योजनाकार कानुनद्वारा दोषी ठहरिएको रेसम चौधरी अहिले देशको प्रतिनिधि सभा सदस्य निर्वाचित भएको अबस्था छ । हुन त अपराधीहरुले चुनाव लडेको यो पहिलो उदाहरण होईन ।

नेपालको निर्वाचनहरुमा विभिन्न समयमा गुण्डागर्दी र अन्य अपराधमा सम्लग्न ब्यक्ति उम्मेदवार भएको चर्चा बेला बखत सुनिदै आएको हो र यहि निर्वाचनमा पनि गुण्डागर्दी पृष्ठभुमिका केही ब्यक्ती उम्मेदवार भएको चर्चा आम संचार माध्यममा चलेकै हो ।

रेसम चौधरी देशको कानुन र न्यायालयले अपराधी ठहर गरि जहाँ भेटेपनी पक्राउ गर्न आदेस जारी गरेको, सुरक्षाकर्मीहरुको सामुहिक हत्याको प्रमुख योजनाकारको रूपमा राज्यले खोजीगरिरहेको एउटा कुख्यात पात्रको रूपमा चित्रीत ब्यक्ति भएकाले उनको बारेमा सर्वत्र चर्चा चलेको हो ।

फरार अभियुक्तकै क्रममा तत्कालीन प्रधानमन्त्री पुस्पकमल दाहालसंग भारतिय भुमिमा भएको भेटको तस्विर बाहिरिए संगै उनी चर्चाको शिखरमा पुगेका थिए । तर यतिबेला उनी चर्चाको केन्द्रमा रहनुको कारण भने जनताको अभिमत रहेको छ ।

राज्यको एउटा फरार अभियुक्तलाई एउटा क्षेत्रका मतदाताले जिताए पछि मात्रै देशभरिका जनताले उनी उम्मेदवार भएको थाहा पाए । त्यसपछि हरेक चोक,गल्ली,चिया पसल र जमघटमा चर्चा छ रेसम चौधरीको ।

खुल्दुली छ चौधरी, उनको उम्मेदवारी, निर्वाचन आयोग, उनको बिजय र प्रसासनको ।

जनताले खुट्याउन सकिरहेका छैनन् यसमा दोषी को ?

जनताको सामान्य नजरले हेर्दा:

१. राज्यको कानुनले दोषी सिद्ध गरेर पक्राउ पुर्जी जारी गरेको अपराधीलाई उम्मेदवारी दर्ता गर्न स्वीकृति दिने निर्वाचन आयोग यश मुद्दाको पहिलो दोषी हो ।

२. उम्मेदवारी दर्ता गरिसकेपछि तिनका कार्यकर्तालाइ उहि अपराधी जिताउने अभियानका र्यालीहरुमा सुरक्षा प्रदान गर्दै अघिपछि हिडेको स्थानीय प्रसासन दोषी हो कि होईन ?

३. उम्मेदवारी दर्ता गर्दा निजको वारेसलाइ अपराधीको प्रतिनिधि बनेर आएकोमा प्रहरीलाई बुझाउनुको सट्टा लुरुक्क परेर उम्मेदवारी दर्ता भएको कागज सुम्पेर पठाउने निर्वाचन आयोग पुनः दोषी हो कि होईन ?

४. उम्मेदवारी दर्ता गर्न वारेस स्वीकार गर्ने तर बिजयी भए पश्चात् प्रमाणपत्र प्रदान गर्न उम्मेदवारको वारेस स्वीकार नगर्ने दोहोरो चरीत्र प्रदर्शन गर्नु निर्वाचन आयोगको स्वच्छता माथि प्रश्न उठाउने कि नउठाउने ?

त्यसमाथि पनि डडेल्धुराका उम्मेदवार शेर बहादुर देउवाको प्रमाणपत्र उनको वारेसलाइ प्रदान गर्ने तर रेसम चौधरीको प्रमाणपत्र वारेसलाइ प्रदान गर्न नमिल्ने भनेर आयोगले बिभेदपुर्ण व्यबहार प्रस्तुत गर्न कदापी सुहाउँदैन । कि आयोगले स्पष्ट संग भन्नुपर्यो, हामीले बिजय भए पश्चात् मात्रै रेसम चौधरी अपराधी भएको थाहा पायौं ।

जसरी शेर  बहादुर देउवा एउटा निर्वाचन क्षेत्रको उम्मेदवार हो त्यसैगरी रेसम चौधरी नि एउटा उम्मेदवार हो भन्ने एकै नजरले आयोगले हेर्न सक्नुपर्दछ । आयोगले हेर्ने निस्पक्षताको नजरले हो ।

अब के गर्ने त ? जुनसुकै कोणबाट सोचेपनि कैलाली हत्याकाण्ड जघन्य अपराध हो र यो वा त्यो बहानामा हत्याराको उन्मुक्ति स्विकार्य हुन सक्दैन ।

तर घटनाको मुख्य आरोपीलाइ जनताले जनप्रतिनिधिको रुपमा अनुमोदन गरिसकेको यो अवस्थामा जनताको मतको अपमान गर्न पनि मिल्दैन । त्यसकारण आयोगले जन भावनाको कदर गर्दै अहिले कुनै तरिकाले बिजयी रेसम चौधरीलाई बिजयी भएको प्रमाणपत्र प्रदान गर्ने र प्रसासनले सभामुख चयन भए पश्चात् सभामुखको स्वीकृति लिएर दोषी करार निज चौधरीलाई पक्राउ गर्ने दिशामा अघि बढ्दा अहिलेको चोर पुलिस लुकाछिपि खेल्ने र मिडियामा अनेक मसला बनिरहने क्रम रोकिनेछ । संगसंगै उत्साहपुर्ण ढंगले निर्वाचनमा सहभागी जनताको भावना र मतको समेत सम्मान हुनेछ ।

तपाइँको प्रतिक्रिया ।