नेपाल सेमिफाइनलबाट आउट, अफगानिस्तानसँग ७ विकेटले पराजित

नेपाल सेमिफाइनलबाट आउट, अफगानिस्तानसँग ७ विकेटले पराजित

कपन अनलाइन 

काठमाडौं, १ मंसिर । एसीसी यू-१९ एसिया कपको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । अफगानिस्तानसँग ७ विकेटको पराजय भोगेपछि नेपालको फाइनल पुग्ने लक्ष्यमा पूर्णविराम लागेको हो । नेपालले दिएको १ सय ४ रनको झिनो लक्ष्य अफगानिस्ताले २०.३ ओभरमै ३ विकेट गुमाउँदै पुरा गर्‍यो ।

नेपाल दिएको लक्ष्य भेट्टाउने क्रममा अफगानिस्तान टिमका ओपनर रमानुल्लाह गुर्बाजले सर्वाधिक ७१ रन बनाए भने दर्विस रसुलले नटआउट १२ रनको योगदान दिए । त्यस्तै अर्का ब्याट्सम्यान इर्काम खिल १८ रन बनाउँदै आउट भए । अर्का ओपनर इब्राहिम जार्डान ३ रनमै पेभेलियन फर्के । नेपालका लागि कमलसिंह ऐरी, पवन सर्राफ र सन्दीप लामिछानेले समान १/१ विकेट लिए ।मलेसियामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालको ब्याटिङ चल्न सकेन । जसअनुसार नेपाल जम्मा २८ ओभरमा १ सय ३ रन बनाउँदै अलआउट हुन पुग्यो ।

नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ५० रन जोडे । उनले ५७ बलको सामना गर्दै ७ चौका र १ छक्का हिर्काए ।नेपालका ओपरनद्वय जितेन्द्रसिंह ठकुरी र आसिफ सेखले खराब प्रदर्शन गरे । आसिफ खाता नै नखोली पेभेलियन फर्के भने जितेन्द्र १ रनमै आउट भए ।अन्य खेलमा राम्रो प्रदर्शन गरेका कप्तान दीपेन्द्रसिंह ऐरी ६ रन बनाए । त्यस्तै भीम सार्कीले ६ रन जोडे भने रोहितकुमार पौडेल ४ रनमै आउट भए ।

उता किशोर महतो र कमलसिंह ऐरी पनि कुनैपनि रन बनाउन सकेनन् । पवन सर्राफले ८ रन बनाएर आउट भए । सन्दीप लामिछानेले ७ रन बनाए भने सहाब आलमले नटआउट ७ रनको योगदान दिए । नेपाललाई सस्तैमा समेट्न बलिङतर्फ अफगानिस्तानका मुजिब रहमान एक्लैले ६ विकेट लिए । क्वाइस अहमदले २ विकेट लिन सफल भए । प्रतियोगिताको फाइनलमा आइतबार अफगानिस्ताले पाकिस्तानको गर्नेछ ।

तपाइँको प्रतिक्रिया ।