एसीसी अन्डर-१९ एसिया कपमा नेपालद्वारा भारत पराजित

एसीसी अन्डर-१९ एसिया कपमा नेपालद्वारा भारत पराजित

कपन अनलाइन  

काठमाडौं, २६ कात्तिक । एसीसी यू-१९ एसिया कपमा नेपालले भारतमाथि ऐतिहासिक जित हासिल गरेको छ । आइतबार मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो । यससँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भारतलाई पहिलोपटक पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको नेपाले १८६ रन बनाएको थियो । नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा रहेको भारतीय युवा टोली ४८.१ ओभरमा १६६ रन बनाउँदै अलआउट भयो । भारतका लागि ओपनर तथा कप्तान हिमांशु रानाले ४६ रनको योगदान गरे । उनले ३८ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै आदित्य ठाक्रेले ३३ रन जोड्दा मनोज कर्लाले ३५ रनको योगदान गरे । मन्दीप सिंह १८ रन र अभिषेक शर्मा ३८ रन बनाएर पेभेलियन फर्के ।

यता नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी नायक बने । उनले भारतको सुधारिएको प्रदर्शन ध्वस्त पार्ने क्रममा ४ विकेट लिए । सहाब अलाम र पवन सर्राफले समान २/२ विकेट लिए । कमलसिंह ऐरी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनायो । नेपालका लागि उत्कृष्ट पारी खेलेका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८८ रनको योगदान दिए । उनले १०१ बल खेल्दै ६ चौका र २ छक्का लगाए ।

नेपालका लागि ओपनर जितेन्द्र सिंह ३६ रन बनाए । त्यस्तै अर्का ओपनर आसिफ शेख मात्र ३ रन बनाएर पेभेलियन फर्के । रोहितकुमार पौडेल ६ रनमा आउट भए भने अनिलकुमार साहले पनि ६ रन मात्रै बनाउन सके। भीम सार्कीले १५ रन जोड्दा पवन सर्राफ १ रनमै भारतीय बलरको शिकार भए ।

कमलसिंह ऐरीले १७ रन योगदान दिए भने सन्दीप लामिछानेले नटआउट ९ तथा किशोर महतोले नटआउट ७ रन बनाए। बलिङतर्फ भारतका लागि अभिषेक शर्मा र आदित्य ठाक्रेले २/२ विकेट लिए । शिव सिंह, अर्थव टइडे, मन्दिप सिंह र विवेकानन्दले समान १/१ विकेट लिए ।

तपाइँको प्रतिक्रिया ।