तालको संरक्षणदेखि पर्यटन र कृषि विकासः उम्मेदवारका प्राथमिकता
कपन अनलाइन
– वासुदेव पौडेल
पोखरा, २५ कात्तिक । सात तालको सौन्दर्यले पर्यटकीय आकर्षण केन्द्र बनेको कास्कीको निर्वाचन क्षेत्र नं १ मा आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा कसले बाजी मार्छ भन्ने कुरा यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ । नेपाली काँग्रेस र वाम गठबन्धनका बीच नै कडा प्रतिस्पर्धा हुने यस क्षेत्रमा काँग्रेसका कानून न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा र वाम गठबन्धनका पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीसहितका उम्मेदवार मतदातासँग भोट माग्दै जनताको घरदैलोमा पुगेका छन ।
गाउँ शहरका बस्तीमा मतदाता भेट्ने, चुनावी सभा र कार्यक्रम गर्ने तथा जनताका आकांक्षा बुझ्दै भोट माग्न उनीहरु व्यस्त छन् । पर्यटकीय मौसमको पारिलो घाममा तालतलैयाका छेउछाउ र पदमार्गमा विदेशी पर्यटक देखिए पनि निर्वाचन चिह्न, पार्टीका झण्डा र चुनावी नारासहित राजनीतिक दलका यत्रतत्र देखिने हुल र जुलुसले चुनावी चटारोलाई दर्शाउँछ ।
धान थन्क्याउने हतारोमा रहेका किसानका खेतमा हात जोड्दै पुग्ने उम्मेदवारका लागि मतदाताका विकासका एजेण्डा बुझेर फर्कनु यतिखेर दैनिकी नै भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि यस क्षेत्रमा कूल ३३ जना उम्मेदवार रहेको निर्वाचन अधिकृत जगन्नाथ पौडेलले जानकारी दिए ।
तीन क्षेत्रसहित कूल दुई लाख ५५ हजार ४५२ मतदाता रहेको कास्कीको यस क्षेत्रमा ४४ हजार ६२० पुरुष, ५१ हजार ४६३ महिला र एकजना तेस्रोलिङ्गी गरी कूल ९६ हजार ८४ जना मतदाता छन् । जिल्लाका ३१७ मतदान केन्द्रमा मतदान गरिनेछ । विकासको पर्याप्त सम्भावना बोकेको यस क्षेत्रमा रुपा र मादी गाउँपालिका, पोखरा लेखनाथ महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नं वडा पर्छन् ।
यस क्षेत्रको प्रदेश (क) मा रुपा गाउँपालिका र महानगरका २६, २७, २९, ३०, ३१ र ३२ नं वडा पर्छन् भने प्रदेश (ख) मा मादी गाउँपालिका र महानगरपालिकाका १०, १२, १३, १४ र २८ नं वडा पर्छन् । यहाँका मादी र रुपा गाउँपालिका जलविद्युत्, कृषि तथा पर्यटनमा धेरै सम्भावना बोकेर पनि अपेक्षित विकास नभएका क्षेत्र हुन् भने महानगरका वडा पनि विकास दृष्टिले अझै ओझेलमा छन् ।
पर्यटकलाई लोभ्याउने प्राकृतिकरुपमा सुन्दर सिक्लेस, ताङ्तिङ, याङ्जाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायतका पर्यटकीय गन्तव्य छन्। कास्की र लमजुङको सिमानास्थित तमुहरूको उद्गमस्थल क्होला सोंथर, दूधपोखरी यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् ।पद यात्रा पर्यटनमा पनि उत्तिकै महत्वपूर्ण मादीको सिक्लेसदेखि मनाङसम्म र लमजुङ, नागिधार, भाचोक, वारचोक, याङ्जाकोट, ताङ्तिङदेखि सिक्लेससम्मका पदमार्ग पर्यटकलाई लोभ्याउन सक्ने स्थल हुन् । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको घपुचे हिमताल पनि यही पर्छ ।
निर्माणाधीन सिक्लेस–सिसाघाट, कसेरी–भैँसे–थुमाकोडाँडा, राखी–मिजुरे–पोसी, सैमराङ–भाचोक–नागिधार–पोसी, काहुँखोला–दूधपोखरी सडक, काहुँखोलादेखि ताङ्तिङलगायतका सडकको स्तरोन्नति यहाँका टड्कारो आवश्यकता हुन् । दुर्लभ पाँचऔँले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडीबुटी यहाँ पाइन्छन् । लेकाली भेगमा पाइने टुसा यहाँको आम्दानीको महत्वपूर्ण स्रोत बन्ने देखिन्छ । त्यस्तै रुपातालबाट जलविद्युत् निकाल्ने गरी सम्भाव्यता अध्ययन शुरु भइसकेको छ भने व्यावसायिक माछापालन पनि यहाँको आयआर्जनका लागि महत्वपूर्ण माध्यम बन्ने देखिन्छ ।
यहाँका चिसापानीको देवी मन्दिर, हंसपुरको स्याक्लुङ्कोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भिरचोक कोट, बराहाथोकको कालभैरव मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने स्थल हुन् । बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक र तनहुँ, लमजुङ हुँदै कास्की जोडिने मिर्लुङकोट पदयात्रा मार्ग पनि पर्यटकीय गन्तव्य बनेको छ । तालबेँसी, खाल्डे खोला, बृदिम, आपुखोला, थुम्सीकोट बेँसीलगायत फाँटमा व्यावसायिक कृषिको विकास गर्न सकिन्छ ।
शिशुवा देउराली हुँदै सिसाघाट, रूपाकोट थुम्की, सात ताल जोड्ने लिंकरोड र बेगनास भोर्लेटार यहाँका मुख्य सडक मार्ग हुन् । यहाँका महानगरका वडा अधिकांश ग्रामीण भेगमा नै रहेकाले तिनको विकास गर्न आसन्न निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिका लागि मुख्य चुनौती छ ।
चुनावका लागि विभिन्न आश्वासन बाँड्दै उम्मेदवार घरदैलोमा आउने गरे पनि विकासमा जनतासँग हातेमालो र नेतृत्व गर्न सक्ने उम्मेदवारको पहिचान गर्ने बेला आएको लेखनाथ अर्घौंका मतदाता हरिशंकर भण्डारी बताउछन् । “केवल भोटका लागि यो गर्छु, त्यो गर्छु मात्र होइन काम गर्ने विश्वासिला आधार उम्मेदवारले मतदातालाई दिनु आवश्यक छ,” उनले भने ।
लेखनाथका तालको संरक्षण र विकासका साथै सिसाघाट मादी करिडोर निर्माणलगायतका धेरै कुरा अघि बढिरहेका कारण यी कार्यलाई सम्पन्न गर्नु अपरिहार्य भएको काँग्रेसका कास्की क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं कानून मन्त्री यज्ञबहादुर थापा बताउछन् । तालहरू जोड्ने लिङ्क रोड तयार भइसकेको बताउँदै उनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका कामलाई पनि प्रक्रियागतरुपमा अघि बढाइसकिएको बताए ।
यहाँ कृषि, पर्यटन, जलविद्युत् आदिका पर्याप्त सम्भावना रहेका कारण यिनैका माध्यमबाट यस क्षेत्रलाई समृद्धिको मार्गमा लैजान सकिने वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं पूर्व मन्त्री खगराज अधिकारीले बताए। तालतलैयाको संरक्षणका साथै पर्यटकको आगमन मा वृद्धि गराउँदै स्थानीयवासीको आयआर्जन वृद्धि गराउन व्यावसायिक कृषिको विकासजस्ता कामलाई प्राथमिकतामा राखिने उनले बताए ।
यस क्षेत्रलाई समृद्ध बनाउन प्रकृतिप्रदत्त साधनस्रोतको अधिकतम उपयोग गर्न सकिने काँग्रेसका तर्फबाट यस क्षेत्रका प्रदेश (ख) का उम्मेदवार कृष्ण केसीको धारणा छ । उनले भने, “लेकाली, पहाडी हुँदै समथर फाँटमा ठाउँ अनुकूलको व्यावसायिक कृषि विकासका धेरै सम्भावनालाई उजागर गर्न सकिन्छ ।”