हतियार बुझाउन आग्रह

कपन अनलाइन 

रसुवा, ६ कात्तिक । आसन्न निर्वाचनलाई दृष्टिगत गरी गाउँघरमा राखिएको वैध वा अवैध हतियार सुरक्षा निकायलाई बुझाउन सबै रसुवालीमाझ आग्रह गरिएको छ । प्रजिअ हीरादेवी पौडेलका अनुसार आगामी मंसिर १० मा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अवधिभर कुनै पनि व्यक्तिले बन्दुकजस्ता हतियार राख्न नपाइने भएकाले राज्यलाई बुझाउन आग्रह गरिएको हो ।

यस्तै निर्वाचनको आचारसंहिता पूर्णरुपमा पालना गरी शान्तिपूर्ण तबरले निर्वाचन सम्पन्न गर्न नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शाक्ति पार्टी समेतका दलले प्रतिबद्धता गरेका छन् ।

चुनावी सभा गर्दा पूर्वस्थानको अनुमति लिने, सुरक्षा आवश्यकता पर्नासाथ माग गर्ने, चुनाव प्रचार–प्रसारका क्रममा कसैको पनि व्यक्तिगत आलोचना नगर्नेसहित निर्णय भएको प्रजिअ पौडेलले बताए ।

भयरहित वातावरणमा शान्तिपूर्ण तबरले निर्वाचन सम्पन्न गर्न सबै दलका उम्मेदवारलाई आग्रह गर्दै मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले निर्वाचनमा दलहरुले पालना गर्नुपर्ने निर्वाचन आयोगको आचारसंहिताको बुँदासमेत वितरण गरेका  थिए ।

तपाइँको प्रतिक्रिया ।