प्रतिनिधि र प्रदेश सभाको पहिलो चरणको निर्वाचनका लागि मनोनयन दर्ता आज
कपन अनलाइन
काठमाडौ,कार्तिक ५।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मंसिर १० गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
मनोनयन दर्ताका लागि बिहान १० देखि अपरान्ह ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । पहिलो चरणमा हुने यो निर्वाचनमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्र छन् । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा छन् ।
त्यस्तै पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी छन् । पहिलो चरणको निर्वाचनमा जम्मा ३२ लाख २८ हजार ८७९ मतदाता रहेका छन् । आयोगका अनुसार, उम्मेदवार बन्न चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ । प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने छ ।